ऐतिहासिक व्यक्तित्वद्वय बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशित गरिएको छ। हुलाक सेवा विभागले उनीहरूको योगदानको सम्मान गर्दै हुलाक टिकट प्रकाशन गर्नुका साथै प्रथम दिवसीय टाँचा लगाएको हो।

यस अवसरमा प्रथम दिवसीय टाँचा लगाउने अवसर पाउँदा आफूलाई गर्व र सन्तोषको अनुभूति भएको विक्रम तिमिल्सिनाले बताएका छन्। उनले यस महत्त्वपूर्ण कार्यका लागि हुलाक सेवा विभाग र सम्बन्धित सबैलाई धन्यवाद दिएका छन्।
तिमिल्सिनाले यस कदमलाई नेपालको इतिहासलाई समावेशी दृष्टिकोणबाट हेर्ने र राष्ट्र निर्माणमा दलित समुदायले पुर्याएको योगदानलाई उचित स्थान दिने महत्त्वपूर्ण सन्देशका रूपमा व्याख्या गरेका छन्।
‘राष्ट्रको इतिहास कुनै एक व्यक्ति वा समुदायको योगदानले मात्र बनेको हुँदैन। तर, इतिहास निर्माणमा योगदान दिएका सबैको सम्मान समान रूपमा हुन सकेको छैन,’ उनले भनेका छन्, ‘बिसे नगर्ची र बाङ्गे सार्कीको योगदानलाई राष्ट्रिय पहिचान दिनु यही ऐतिहासिक रिक्तता पूरा गर्ने दिशामा एउटा अर्थपूर्ण कदम हो।’
इतिहास निर्माणमा योगदान पुर्याएका सबै व्यक्तित्वको सम्मान हुनु न्यायपूर्ण समाजको मुख्य आधार भएको उनको भनाइ छ। राज्यले चालेको यो कदम दुई ऐतिहासिक व्यक्तित्वको सम्मानमा मात्र सीमित नभई समग्र दलित समुदायको आत्मसम्मान, पहिचान र गौरवसँग समेत जोडिएको तिमिल्सिनाले बताएका छन्।

नेपाल एकीकरणको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहलाई आर्थिक तथा रणनीतिक सल्लाह दिने बिसे नगर्ची र हातहतियार तथा छालाका सामग्री निर्माणमा योगदान पुर्याउने बाङ्गे सार्कीको भूमिका नेपाली इतिहासमा महत्त्वपूर्ण मानिन्छ।
उनीहरूको सम्मानमा हुलाक टिकट प्रकाशन हुनुले राष्ट्र निर्माणमा योगदान पुर्याएका ऐतिहासिक व्यक्तित्वहरूको पहिचान र सम्मानलाई थप उजागर गरेको छ।






