भोटेकोशी नदीमा बाढी आएको करिब ६० घण्टापछि गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल, २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी शिरगङ्गा इचाई मगरको आज दिउँसो जीवितै उद्धार गरेको हो।
उद्धारका क्रममा गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई थप उपचारका लागि हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौं पठाइएको छ।
बालिकाका आमा गीता इचाई मगर र बुबा लोकबहादुर उचाईको पनि सोही स्थानबाट उद्धार गरिएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले जानकारी दिए। अर्घाखाँची स्थायी घर भएकी गीता हाल ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत छिन्।
उद्धार गरिएका बालिकाका आमाबुबालाई यसअघि नै नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।









