२०८३ भदौ २७ , शनिबार

कर्णालीमा एमालेका तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार अझै अधुरो



कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सत्तारूढ एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि तीन सातापछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको हो।

एमालेका तर्फबाट टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै, जितबहादुर मल्ललाई सामाजिक विकास मन्त्रालय र कलबहादुर हमाललाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त तीनै मन्त्रीलाई बुधबार साँझ आयोजित समारोहमा कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेकपा र एमालेबीच भएको मन्त्रालय बाँडफाँटसम्बन्धी सहमतिअनुसार एमालेले तीन मन्त्रालय पाएको थियो। सोहीअनुसार एमालेले आफ्ना तर्फबाट मन्त्रीको टुंगो लगाएर सरकारमा सहभागी गराएको हो।

यद्यपि, नेकपाको भागमा परेका तीन मन्त्रालयमा भने अहिलेसम्म मन्त्री छनोट हुन सकेको छैन। यसअघि लामो समयदेखि मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा कर्णाली सरकारको मन्त्रिपरिषद् विस्तार रोकिएको थियो।

एमाले र नेकपाबीच बुधबार मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि मन्त्रालय बाँडफाँटमा सहमति जुटेको हो। सहमतिपछि सरकार विस्तारको बाटो खुलेको छ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।