२०८३ वैशाख ११ , शुक्रबार

कांग्रेस संसदीय दलको नेता चयन आज, तीन आकांक्षीबीच प्रतिस्पर्धा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ। पार्टीले सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार उम्मेदवारी दर्ता र मतदान आजै हुने छन्।

निर्वाचन समितिले बिहीबार मतदाताको नामावली सार्वजनिक गरिसकेको छ। समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य रहेका छन्। उम्मेदवारी दर्ता शुक्रबार दिउँसो ३ बजेदेखि र मतदान अपराह्न ५ बजेदेखि हुने तय भएको छ।

कांग्रेसका प्रतिनिधि सभामा ३८ सांसद छन्, जसमध्ये १८ जना प्रत्यक्ष र २० जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्। संसदीय दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ।

हालसम्म भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दाबी प्रस्तुत गरेका छन्। पार्टीभित्र विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई गुट सक्रिय देखिएका छन्। केसी र आचार्य संस्थापन पक्षका मानिन्छन् भने आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन्।

समर्थनको समीकरण पनि जटिल बनेको छ। उपसभापति विश्वप्रकाश शर्मा, निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूह आङ्देम्बेको पक्षमा उभिएका छन्। सभापति गगन थापा बाहेकका अधिकांश पदाधिकारी भने केसीको पक्षमा देखिएका छन्। पारिवारिक आरोप नलागोस् भन्ने कारणले थापा भने केसीलाई अघि सार्ने पक्षमा खुला रूपमा देखिएका छैनन्।

महामन्त्री प्रदीप पौडेलले सर्वसम्मत नेताको प्रयास जारी रहेको बताए पनि सहमतिको सम्भावना कमजोर देखिएको छ। दाबी छोड्ने संकेत कसैले नदेखाएपछि मतदानमार्फत् नै नेता चयन हुने सम्भावना बलियो बनेको छ।

२०६४ सालपछि कांग्रेस संसदीय दलको नेता निरन्तर निर्वाचनबाटै चयन हुँदै आएको छ। हालै विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई सर्वोच्च अदालतले वैधानिकता दिएसँगै पार्टीभित्रको गुटबन्दी झन् तीव्र बनेको छ।

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार