२०८३ साउन १२ , मंगलबार

गृह मन्त्री सुदन गुरुङले दिए राजीनामा




गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार जारी गरेको वक्तव्यमा मिति २०८२ चैत १३ गतेदेखि इमानदारीपूर्वक जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्लो समय उठेका जनचासो र प्रश्नलाई गम्भीर रूपमा लिएको बताएका छन्।

गुरुङले आफ्नो लागि पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको उल्लेख गर्दै आफूसँग सम्बन्धित शेयर लगायतका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गरेका छन्। पदमा रहँदा कुनै प्रकारको ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले तत्काल प्रभावबाट राजीनामा दिएको उनले स्पष्ट पारे।

उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढ्दै गएको उल्लेख गर्दै विशेषगरी युवापुस्ताबाट उठिरहेको आवाजलाई सकारात्मक रूपमा लिएको बताएका छन्। साथै, सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्।

उनले सरकार निर्माणमा भएको बलिदानीको सम्मान गर्दै उठेका प्रश्नहरूको जवाफ नैतिकताबाट दिनुपर्ने बताए। “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु,” गुरुङले भनेका छन्।

साथै उनले सञ्चारकर्मी, नागरिक समाज र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।