२०८३ वैशाख ६ , आइतबार

गुर्भाकोटमा स्थानीय शिक्षा योजना मस्यौदा पुनरावलोकन कार्यशाला सम्पन्न



सुर्खेतको गुर्भाकोट नगरपालिकामा सञ्चालित सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन परियोजना अन्तर्गत स्थानीय शिक्षा योजना निर्माण विश्लेषण रूपरेखाका आधारमा स्थानीय शिक्षा योजना मस्यौदा पुनरावलोकनसम्बन्धी कार्यशाला सम्पन्न भएको छ।

स्थानीय शिक्षा योजना निर्माण कार्यदलका संयोजक तथा शिक्षा शाखा प्रमुख बलवीर विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यशाला कारखाना समूहको सहकार्य र गुर्भाकोट नगरपालिकाको आयोजनामा भएको हो।

कार्यक्रममा नगरप्रमुख हस्तबहादुर पुन प्रमुख अतिथि तथा उप–प्रमुख मैना विक विशेष अतिथिका रूपमा सहभागीता थियो । 

कार्यक्रममा उप–प्रमुख विकले स्थानीय तहको समग्र विकासको आधार गुणस्तरीय शिक्षा भएको उल्लेख गर्दै स्थानीय शिक्षा योजना नगरपालिकाको दीर्घकालीन सोच र वास्तविक आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिइन् ।

हालसम्म भएका योजना निर्माणका प्रयासहरूले भविष्यमा गुणस्तरीय शिक्षा प्रवाहमा सकारात्मक योगदान पुग्ने उनको भनाई थियो ।

नगरप्रमुख हस्तबहादुर पुनले शिक्षा योजना कागजमै सीमित रहने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै योजनाहरू कार्यान्वयनयोग्य, देखिने र नतिजामुखी हुनुपर्ने धारणा राखे।

सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने, सिकाइको स्तर उकास्ने र शिक्षक व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उनले स्पष्ट पारेका थिए ।

कार्यशालामा कर्णाली सिकाइ समूहका सदस्य तपेन्द्रबहादुर सावदले शिक्षा तथा मानव विकास केन्द्रले तयार पारेको मापदण्डकै आधारमा स्थानीय शिक्षा योजना निर्माण गर्नुपर्ने बताए।

शिक्षा क्षेत्रका उप–क्षेत्र पहिचान गरी रणनीति र कार्यनीति तय गर्नु आवश्यक रहेको उल्लेख गर्दै विद्यालयको नियमित अनुगमन र स्थानीय शिक्षा नीतिको प्रभावकारी कार्यान्वयनले नै शिक्षाको वास्तविक गुणस्तर झल्किने उनको भनाइ थियो।

स्थानीय तहअनुसार लक्ष्य र सूचक फरक भए पनि मूल उद्देश्य गुणस्तरीय शिक्षा नै भएको उहाँले स्पष्ट पारे ।

यस्तै, कारखाना समूहका कर्णाली प्रतिनिधि ललितजंग शाहीले ‘स्थानीय शिक्षा योजना निर्माण विश्लेषण रूपरेखा’ को महत्वमाथि प्रकाश पार्दै गुर्भाकोट नगरपालिकाको शिक्षा योजना मस्यौदामा समावेश उप–क्षेत्रगत सूचकहरू र विश्लेषण रूपरेखाबीचको तुलना प्रस्तुत गरे ।

उनले स्थानीय तहको शिक्षा योजना निर्माणसम्बन्धी मार्गदर्शन २०७९ (संशोधन संस्करण २०८१) अनुसार योजना तयार गर्नुपर्नेमा जोड दिँदै प्रारम्भिक बालविकासदेखि माध्यमिक, प्राविधिक तथा व्यवसायिक, अनौपचारिक र आजीवन शिक्षासम्मका क्षेत्रमा गुणस्तरलाई केन्द्रमा राखी योजनालाई नतिजामुखी बनाउनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाले आगामी एक हप्ताभित्र स्थानीय शिक्षा योजना तयार गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।

शिक्षा शाखा प्रमुख विकले शिक्षा योजना निर्माणको मुख्य जिम्मेवारी कारखाना समूहले लिने जानकारी दिँदै यस योजनाले शिक्षक दरबन्दी व्यवस्थापन, सबै विद्यार्थीको शिक्षामा पहुँच तथा समावेशी शिक्षा सुनिश्चित गर्न सहयोग पुग्ने बताए।

साथै, शिक्षा योजनामा विद्यार्थीको पहुँच, समुदायको सक्रिय सहभागिता र सरोकारवालाका सुझाव समेटिनु अनिवार्य हुने उनको भनाइ थियो।

कार्यशालामा समूहगत छलफलबाट प्राप्त सुझावहरू समेटी सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन परियोजना अन्तर्गत कारखाना समूहको नेतृत्वमा गुर्भाकोट नगरपालिकाको स्थानीय शिक्षा योजनालाई अन्तिम रूप दिने निर्णयसहित कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार