सल्यान जिल्ला अस्पताल परिसरमा पहिलोपटक रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको छ।

स्वास्थ्य सेवा कार्यालय सल्यान र स्थानीय युवाहरुको सक्रियतामा उपचारका क्रममा रगतको अभाव नहोस् भन्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरका अनुसार केन्द्र सञ्चालनमा आएपछि उपचार तथा शल्यक्रियाका बिरामीलाई सहज भएको छ। यसअघि रगत आवश्यक पर्दा बिरामीका आफन्तले आफैं व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो।
नेपाल रेडक्रस सोसाइटीले निर्माण गरेको भवन लामो समयसम्म प्रयोगविहीन रहँदै आएको थियो। युवाहरुको पहल र स्वास्थ्य मन्त्रालयबाट आवश्यक सामग्री प्राप्त भएपछि केन्द्र सञ्चालनमा आएको हो।
२०४४ सालमा स्थापना भएको सल्यान जिल्ला अस्पताल हाल १५ शय्याबाट विस्तार भई ४० शय्यामा सेवा दिइरहेको छ।
अस्पतालमा महिनामा ८ देखि १२ प्वाइन्ट रगत खपत हुने गरेको र रक्त सञ्चार केन्द्रमा संकलित रगत बढी भएमा अन्य स्वास्थ्य संस्थामा समेत पठाउन सकिने डा. बुढा मगरले बताए ।
सल्यान जेन्जीका संयोजक युवराज खडकाले रक्त सञ्चार केन्द्र स्थापनाका लागि लामो समयदेखि प्रयास हुँदै आएको बताए।
उनले पटक–पटक राजनीतिक एजेन्डा बने पनि ब्लड बैंक सञ्चालनमा नआउँदा नागरिकले ठूलो समस्या भोग्नुपरेको उल्लेख गरे। “आज युवाहरुको सक्रियतामा ब्लड बैंक सञ्चालनमा ल्याउन सफल भएका छौं,” उनले भने।
ब्लड बैंक सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक सामग्रीसमेत ल्याइसकिएको खडकाले जानकारी दिए।











प्रतिक्रिया दिनुहोस्