सुर्खेतको गुर्भाकोट नगरपालिकाको विद्यालय शिक्षा क्षेत्र योजना (२०७९–२०८९) का प्रमुख सूचकहरूको विश्लेषणपछि तयार गरिएको विस्तृत सुझाव-पत्र एक औपचारिक कार्यक्रममार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

नगरप्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली सिकाइ समूह तथा शिक्षाविद्हरूले संयुक्त रूपमा तयार पारेको सुझाव–पत्र बुझाइएको हो।
जवाफदेही शिक्षाको लागि नागरिक समाज सशक्तिकरण (CSE) परियोजनाअन्तर्गत तयार भएको सुझाव–पत्र स्थानीय तहको शिक्षा योजना विश्लेषण रूपरेखा को आधारमा विकसित गरिएको कारखाना समूहका कर्णाली प्रदेश प्रतिनिधि ललित जंग शाहीले बताए ।
समावेशी शिक्षा, शिक्षक विकास, पूर्वाधार, सिकाइ उपलब्धि, प्रविधि, संकट व्यवस्थापन र विद्यालय शासनजस्ता क्षेत्रमा देखिएका अन्तरालहरू पहिचान गरी सुधारका प्रस्तावहरू प्रस्तुत गरिएको प्रतिनिधी शाहीले जानकारी दिए ।

सुझाव-पत्रमा समावेशी शिक्षा नीति स्पष्ट पार्न, सीमान्तकृत बालबालिकाका लागि विशेष प्याकेज व्यवस्था गर्न, अपाङ्गता भएका बालबालिकाका लागि अनुकूल पूर्वाधार तथा सेफ्टी कर्नर स्थापना गर्न, र शिक्षा तथा मानव विकास सेवा केन्द्र-IEMIS प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
विद्यालय शिक्षा क्षेत्र योजना (SESP) का मापदण्डसँग मिल्दोजुल्दो रूपमा तयार गरिएको यो सुझाव–पत्रले गुर्भाकोट नगरपालिकाको शिक्षा सुधार प्रयासलाई थप प्रभावकारी र उत्तरदायी रबनाउने लक्ष्य राखेको छ।
कार्यक्रममा नगरप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुखलगायत अन्य शाखा प्रमुख तथा सरोकारवाला अधिकारीहरूको उपस्थिति रहेको थियो।









