२०८३ वैशाख ६ , आइतबार
सुपथ मूल्य पसल

कर्णालीका ४२ स्थानमा भदौ ३० देखि सुपथ मूल्य पसल सञ्चालन



सरकारले आगामी चाडपर्वलाई लक्षित गरी भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशभर सञ्चालन गर्ने सुपथ मूल्य पसलअन्तर्गत कर्णाली प्रदेशमा मात्र ४२ स्थानमा सेवा उपलब्ध गर्ने भएको छ ।

सुर्खेतमा सिम्ता, चौकुने र पञ्चपुरी खरिद–बिक्री केन्द्रमार्फत सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ। जाजरकोटमा शाखा कार्यालय जाजरकोटसहित दसेरा डिपो, घोगी डिपो, नायक वडाघाट, चौखा डिपो, रजुतारा, कालीमाडी लगायतका स्थानमा पसल सञ्चालन हुनेछ ।

जुम्लामा शाखा कार्यालय जुम्ला र धापा डिपो, मुगुमा शाखा कार्यालय मुगु, सोरुकोट, पुलु र श्रीकोट डिपोमार्फत सुपथ मूल्य पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

यस्तै, दैलेखमा शाखा कार्यालय दैलेखसहित नौमुले, घोडाबास, वेस्तडा, राकम लगायतका केन्द्रमा पसल सञ्चालन हुनेछ। डोल्पामा शाखा कार्यालय दुनैसहित जुफाल, सर्मी, काईगाउँ त्रिपुराकोट, साल्दाङ, धो र काककोटमा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ।

रुकुमपश्चिममा शाखा कार्यालय रुकुमपश्चिम, कालीकोटमा शाखा कार्यालय कालीकोटसहित खल्लागाड, पादमघाट, थिर्पू, भैसासैना, कुमालगाउँ र आरसीपी बजारमा पसल सञ्चालन हुनेछ।

त्यसैगरी, हुम्लामा शाखा कार्यालय हुम्ला, श्रगर, सर्केगाढ र यलवाङ (नाम्खा) मा सुपथ मूल्य पसल सञ्चालन हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार