सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा श्रीमानले पेट्रोल छर्केर श्रीमतीलाई आगो लगाएको आरोपमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार मंगलबार साँझ करिब ५ बजे ४९ वर्षीय जयबहादुर रानाले आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो सल्काएको आरोप छ।
घटनाका क्रममा छोरी १८ वर्षीया पुष्पा रानाले आगो निभाएर आमालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पुर्याएकी थिइन्।
अस्पतालका अनुसार महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा गरी करिब ३५–३६ प्रतिशत जलेको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको थियो। भेरी अस्पतालमा उपचार भइरहेकी उनलाई राति थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले जयबहादुर रानालाई साँझ करिब ६:५० बजे कर्णाली प्रदेश अस्पताल बाहिरबाट नियन्त्रणमा लिएको थियो। उनलाई राति ११:४५ बजे सोही अस्पतालमा बेड भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।









