अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
आयोगका अनुसार वन उपभोक्ता समूहका पदाधिकारीहरूले झाडी सफाइ, अग्नि रेखा निर्माण, खरघाँस रोपण तथा वृक्षारोपण, वनहेरालुको तलब, भैँसी तथा बाख्रा पालन, डढेलो नियन्त्रण तथा मौरीघार व्यवस्थापनलगायत शीर्षकमा नक्कली बिल तथा भरपाई तयार गरी लेखापरीक्षण गराई रकम हिनामिना गरेको उजुरी परेको थियो।
अनुसन्धानका क्रममा समूहका पदाधिकारीहरूले आपसी मिलेमतोमा विभिन्न शीर्षकअन्तर्गतको आम्दानी हिनामिना गरेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले तत्कालीन अध्यक्ष खिमबहादुर सावद, सचिव बनौली रोकाय र कोषाध्यक्ष जमानसिंह धामीसँग १६ लाख ४३ हजार ५८६ रुपैयाँ ८४ पैसा बिगो मागदाबी गरेको छ।
त्यसैगरी, तत्कालीन अध्यक्ष पदमसिं सावद, सचिव पूर्णदेवी धामी र कोषाध्यक्ष रुद्रबहादुर बस्तोलासँग २२ लाख ६८ हजार ९७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
यस्तै, तत्कालीन अध्यक्ष हर्कबहादुर बुढा, सचिव तुल्सी दानी, कोषाध्यक्ष चक्रबहादुर सावद, पाठक एन्ड एसोसियट्सका रजिस्टर्ड लेखापरीक्षक डिल्लीराम पाठक तथा प्रेमबहादुर विसी एन्ड कम्पनीका रजिस्टर्ड लेखापरीक्षक प्रेमबहादुर विसीसँग ३ लाख ९० हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।









