२०८३ भदौ २६ , शुक्रबार

सुर्खेतमा एलपी ग्यास १६ दिनमा करिब ३२ हजार सिलिन्डर बिक्री, बजारमा अझै अभाव



नेपाल आयल निगम लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जिल्लामा एलपी ग्यासको आपूर्ति पर्याप्त रहेको जनाएको छ।

निगमका अनुसार साउन १ गतेदेखि १६ गतेसम्म वीरेन्द्रनगर क्षेत्रमा विभिन्न कम्पनीका ३१ हजार ९६३ वटा एलपी ग्यास सिलिन्डर आयात तथा बिक्री–वितरण गरिएको छ। निगमले यो परिमाण १६ दिनको अवधिमा हालसम्मकै उच्च रहेको जनाएको छ।

उक्त अवधिमा भेरी ग्यास, नेपाल ग्यास कर्णाली, रासी ग्यास, मनकामना ग्यास, रेजेन्ट ग्यास तथा सैपाल ग्यास मार्फत उपभोक्तालाई ग्यास बिक्री–वितरण गरिएको निगमले जानकारी दिएको छ।

हाल बजारमा एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको उल्लेख गर्दै निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा घरमा अनावश्यक रूपमा सिलिन्डर सञ्चय (स्टक) नगर्न आग्रह गरेको छ।

त्यसैगरी, अधिकृत ग्यास विक्रेतालाई ग्यास वितरण गर्दा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको छ। साथै, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राखेर व्यवस्थित ढंगले वितरण गर्न पनि निगमले आग्रह गरेको छ।

निगमले कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास सञ्चय तथा अव्यवस्थित बिक्री–वितरण नगर्न सबै सरोकारवालालाई अनुरोध गर्दै बजारमा एलपी ग्यासको आपूर्ति नियमित र सहज रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।