जिल्ला प्रहरी कार्यालय जाजरकोटले घरेलु मदिरा उत्पादन तथा बिक्री नियन्त्रण अभियानअन्तर्गत भेरी नगरपालिका–६ स्थित स्याउली बजार क्षेत्रमा करिब ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।

प्रहरी सहायक निरीक्षक कविराम जैसीको नेतृत्वमा खटिएको नौ सदस्यीय प्रहरी टोलीले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा टोल सुधार समितिका पदाधिकारीहरूको रोहवरमा १० वटा होटल तथा पसलमा अनुगमन तथा चेकजाँच गरेको थियो।

अनुगमनका क्रममा घरेलु मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थसहित करिब ६० लिटर तयारी अवस्थामा रहेको घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीय सरोकारवालाहरूको उपस्थितिमा नष्ट गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीका अनुसार घरेलु मदिराको उत्पादन, बिक्री तथा सेवन नियन्त्रण गरी सुरक्षित, स्वस्थ र सभ्य समाज निर्माण गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको हो। उनले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने र समुदायको सक्रिय सहभागितामार्फत अवैध गतिविधि नियन्त्रण गर्न सबैसँग सहयोगको आग्रह गरेका छन्।









