२०८३ साउन १२ , मंगलबार

शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १७ मध्ये ३ जनाको उद्धार, १४ महिलाको खोजी जारी



कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न प्रवेश गरेका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ भने सम्पर्कविहीन रहेका १४ महिलाको खोजी कार्य तीव्र पारिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसी नेतृत्वको टोलीले सोमबार बिहान बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई निकुञ्जभित्रबाट सकुशल फेला पारी परिवारको जिम्मा लगाएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार तीनै जनालाई निकुञ्जभित्र रहेको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको जङ्गल क्षेत्रमा फेला पारिएको हो। उनीहरू आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्जभित्र प्रवेश गरेका थिए।

यस्तै, भीमदत्त नगरपालिका–१९ बागफाँटा क्षेत्रबाट आइतबार दिउँसो च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका १४ जना महिलाको समूह भने अझै सम्पर्कविहीन रहेको छ। उनीहरूको खोजीका लागि रणसिंह दल गणले ठूलो सङ्ख्यामा सैनिक टोली परिचालन गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सम्पर्कविहीन महिलाहरूको खोजी कार्य नेपाली सेना, प्रहरी तथा सम्बन्धित निकायको समन्वयमा जारी रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।