सुर्खेत बहुमुखी क्याम्पसमा एलएलबी प्रथम वर्षको भर्ना शुल्क अत्यधिक निर्धारण गरिएको भन्दै प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूले शुल्क पुनरावलोकन गरी न्यायोचित बनाउन माग गरेका छन्।

विद्यार्थीहरूले क्याम्पस प्रशासनसँगै डिन कार्यालय र उपकुलपतिसमक्ष समेत शुल्क फेरबदलका लागि ज्ञापनपत्र बुझाएका छन्।
विद्यार्थी केशव सावदले एलएलबी प्रथम वर्षमा भर्नाका लागि क्याम्पसले ३३ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। उक्त शुल्क त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अन्य आंगिक क्याम्पसको तुलनामा बढी भएको विद्यार्थीहरूको दाबी छ।
‘डिन कार्यालय र उपकुलपतिलाई समेत शुल्क फेरबदलको मागबारे जानकारी गराइएको छ,’ सावदले भने, ‘यसका लागि विद्यार्थी प्रतिनिधिसमेत पठाइएको उनले बताए ।’
विद्यार्थीहरूले सार्वजनिक शैक्षिक संस्थामा शुल्क निर्धारण पारदर्शी, न्यायोचित र विद्यार्थीमैत्री हुनुपर्ने बताएका छन्। उनीहरूका अनुसार कर्णाली प्रदेश आर्थिक रूपमा पछाडि परेको क्षेत्र भएकाले उच्च शिक्षामा पहुँच विस्तार गर्न शुल्कलाई सहज बनाउन आवश्यक छ।
ज्ञापनपत्रमा शुल्कका कारण आर्थिक रूपमा कमजोर तथा न्यून आय भएका परिवारका विद्यार्थीहरू थप समस्यामा परेको उल्लेख गरिएको छ। धेरै विद्यार्थीले भर्ना शुल्क जुटाउन ऋण लिनुपर्ने, आफन्तसँग सहयोग माग्नुपर्ने तथा अन्य आर्थिक कठिनाइ भोग्नुपर्ने अवस्था सिर्जना भएको विद्यार्थीहरूको भनाइ छ।
विद्यार्थीहरूले एलएलबी प्रथम वर्षको शुल्क तत्काल पुनरावलोकन गर्न, अन्य आंगिक क्याम्पससरह समान तथा न्यायोचित शुल्क कायम गर्न र शुल्क निर्धारणको आधार, मापदण्ड तथा निर्णय प्रक्रिया सार्वजनिक गर्न माग गरेका छन्।
त्यस्तै, भविष्यमा शुल्क निर्धारण गर्दा विद्यार्थी प्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने, अस्वाभाविक रूपमा बढी शुल्क लिइएको पाइए बढी रकम फिर्ता वा आगामी किस्तामा समायोजन गर्नुपर्ने माग पनि राखिएको छ।
ज्ञापनपत्रमा कर्णाली प्रदेशका विद्यार्थीको उच्च शिक्षामा पहुँच, गुणस्तरीय शिक्षा र आर्थिक अवस्थालाई ध्यानमा राख्दै शुल्क निर्धारण गर्न आग्रह गरिएको छ। विद्यार्थीहरूले मागपत्र प्राप्त भएको दुई दिनभित्र ठोस निर्णय वा लिखित जवाफ नआए सम्बन्धित अन्य निकायमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन्।
ज्ञापनपत्रमा केशव सावद, सन्तोष कठायत, जीवन थापा, नवीन ज्वली, भिमनिधि तिवारी, सरस्वती कुमारी गिरी, कौशिला वली, खेमराज भण्डारी र संगीत योगीलगायत विद्यार्थीको हस्ताक्षर रहेको छ।








