दैलेखमा भएको फोर्स गाडी दुर्घटनामा ज्यान गुमाएका एक यात्रुको सनाखत भएको छ। दुर्घटनामा बेपत्ता अन्य यात्रुको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिकबाट कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान कर्णाली नदीमा खसेको थियो।
दुर्घटनामा मृत्यु भएका कालीकोटको पचालझरना गाउँपालिका–९ निवासी ४५ वर्षीय जेखे तिरुवाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए। उनको शव घटनास्थल नजिकैको भिरमा भेटिएको थियो।
तिरुवाको शव पोस्टमार्टमका लागि दुल्लुस्थित नगर अस्पतालमा राखिएको छ।

घटनास्थलमा मृत भेटिएका कालीकोटको पचाल झरना गाउँपालिका- ९ निवासी ४५ वर्षीय जेखे
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको उक्त गाडी सडकबाट करिब चारदेखि पाँच सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित पाँचदेखि छ जना यात्रु रहेको अनुमान गरिए पनि यकिन विवरण अझै खुल्न सकेको छैन।
बेपत्ता यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका तालिमप्राप्त गोताखोर, नेपाली सेना तथा स्थानीयवासी परिचालन भएका छन्। घटनास्थलमा सशस्त्र प्रहरीका छ जना गोताखोरले खोजी गरिरहेका छन्।
कर्णाली नदीमा पानी धमिलो हुनुका साथै बाढी आएको कारण खोजी कार्य प्रभावकारी रूपमा अघि बढाउन कठिनाइ भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थल दैलेख सदरमुकामबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ।









