२०८३ भदौ २८ , आइतबार

सामाजिक जवाफदेहिताका विधिबारे दुईदिने अभिमुखीकरण सम्पन्न



सुर्खेतको वीरेन्द्रनगरमा सामाजिक जवाफदेहिताका विभिन्न विधि तथा उपकरण सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कारखाना समूहको आयोजनामा तथा ग्लोबल पार्टनरशिप फर एजुकेशन (GPE) र एजुकेशन आउट लाउड (EOL) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल (CSE) परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रशिक्षक प्रणव भट्टराईले संस्थागत सामाजिक जवाफदेहिताका विभिन्न उपकरणहरूबारे जानकारी गराएका थिए। सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, नागरिक वडापत्र, सूचनाको हक, गुनासो व्यवस्थापन, नागरिक प्रतिवेदन कार्ड तथा सामुदायिक स्कोर कार्ड लगायतका विषयमा नीतिगत तथा कानुनी व्यवस्था, तिनको प्रयोग र स्थानीय तहमा भइरहेको अभ्यासबारे छलफल गरिएको थियो।

अभिमुखीकरणमा सामाजिक जवाफदेहिताका उपकरणहरूले सार्वजनिक सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

कार्यक्रममा बोल्दै कर्णाली सिकाइ समूहका सदस्य तपेन्द्र सावदले आफूले अपेक्षा गरेभन्दा धेरै नयाँ विषय सिक्ने अवसर प्राप्त भएको बताए। यस्ता कार्यक्रमले नागरिक सहभागिता र जवाफदेहिताको अवधारणालाई अझ स्पष्ट रूपमा बुझ्न सहयोग पुगेको उनको भनाइ थियो।

त्यसैगरी कर्णाली सिकाइ समूहकी सदस्य माया सापकोटाले सामाजिक जवाफदेहिताका विभिन्न अभ्यास र तिनको व्यावहारिक प्रयोगबारे जानकारी प्राप्त भएको बताउँदै स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्ता ज्ञान उपयोगी हुने धारणा राखिन्।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा कर्णाली सिकाइ समूहका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सामाजिक जवाफदेहिता प्रवर्द्धन, नागरिक सहभागिता अभिवृद्धि तथा सार्वजनिक निकायहरूको उत्तरदायित्व बढाउने विषयमा अन्तरक्रियात्मक छलफल समेत गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।