
चालू आर्थिक वर्षको पहिलो ९ महिनामा वाणिज्य बैंकहरूको समग्र नाफामा उल्लेख्य सुधार देखिएको छ। तेस्रो त्रैमासिकसम्म सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटामध्ये १३ बैंकले नाफा बढाउँदा ७ बैंकको मुनाफा भने घटेको छ।
चैत मसान्तसम्म वाणिज्य बैंकहरूको कुल नाफा ४६ अर्ब ४४ करोड ९९ लाख ५५ हजार २३४ रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.९९ प्रतिशतले बढी हो। यसले बैंकिङ क्षेत्रमा समग्र रूपमा मुनाफा सुधारको संकेत गरेको छ।
यस अवधिमा कुमारी बैंकले सबैभन्दा उल्लेख्य प्रगति गरेको छ। बैंकको नाफा १३६१.८६ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै हिमालयन बैंकले ५२.४९ प्रतिशत, माछापुच्छ्रे बैंकले ५०.४३ प्रतिशत र सानिमा बैंकले ४२.२२ प्रतिशत नाफा वृद्धि गरेका छन्।
तर सबै बैंकको प्रदर्शन समान देखिएको छैन। प्रभु बैंकको नाफा सबैभन्दा बढी ५४.६१ प्रतिशतले घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३०.६९ प्रतिशतले घट्दा कृषि विकास बैंकको २४.४२ प्रतिशत र एनआईसी एशिया बैंकको १०.४७ प्रतिशतले कमी आएको छ।
नाफाको परिमाणका आधारमा भने नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले ९ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा कमाउँदै ३३.९२ प्रतिशत वृद्धि हासिल गरेको छ। ग्लोबल आईएमई बैंक ४ अर्ब ४० करोड १९ लाख ७८ हजार रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ, यद्यपि यसको नाफा २.९३ प्रतिशतले घटेको छ।
समग्र तथ्यांकले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा तीव्र बन्दै गएको र बैंकहरूको व्यावसायिक प्रदर्शन एकरूप नरहेको देखाएको छ।






