हुम्ला जिल्लामा देखिएको नुन अभाव समाधान गर्न आगामी आर्थिक वर्षका लागि नुनको कोटा बढाउने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नुन ढुवानी र वितरणलाई व्यवस्थित बनाउन थप कोटा माग गर्ने निष्कर्ष निकालेको हो।
बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि विभिन्न बिक्री केन्द्रमार्फत सहज आपूर्ति सुनिश्चित गर्न १,५०० क्विन्टल नुन थप माग गर्ने निर्णय गरेको साल्ट ट्रेडिङ कर्पोरेशनका जिल्ला प्रमुख राजबहादुर लामाले जानकारी दिए।
उक्त निर्णयअनुसार सिमकोटका लागि ५०० क्विन्टल, सर्केगाड–चंखेली क्षेत्रका लागि ५०० क्विन्टल तथा अदानचुली–ताँजाकोट क्षेत्रअन्तर्गत श्रीनगर बिक्री केन्द्रका लागि ५०० क्विन्टल नुन माग गरिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि जनसंख्या र आवश्यकताका आधारमा अझ ठूलो परिमाणमा नुन माग गर्ने तयारी गरिएको छ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाका लागि हाल आपूर्ति हुँदै आएको १,५२९.९५ क्विन्टललाई बढाएर २,५०० क्विन्टल पुर्याउने प्रस्ताव गरिएको छ।
सर्केगाड–चंखेली तथा अदानचुली–ताजाकोट क्षेत्रका लागि हालको १,०७९.८४ क्विन्टलबाट बढाएर २,००० क्विन्टल पुर्याउने निर्णय गरिएको छ भने नाम्खा गाउँपालिकाको कोटा ६३० क्विन्टलमै यथावत राखिएको छ। यसरी आगामी वर्षका लागि कुल १,८१०.३२ क्विन्टल नुन थप माग गर्ने निर्णय भएको हो।
नुन ढुवानीलाई प्रभावकारी बनाउन साल्ट ट्रेडिङ कर्पोरेशनको प्रदेश कार्यालयसँग समन्वय गर्दै हवाई तथा स्थलमार्ग दुवै माध्यम प्रयोग गरिने जनाइएको छ।
दुर्गम भूगोल र प्रतिकूल मौसमका कारण ढुवानीमा आउने समस्यालाई ध्यानमा राख्दै आपूर्ति प्रक्रिया अघि बढाइने उल्लेख छ।
जिल्ला समन्वय समिति प्रमुख शिर्वराज शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, कर्पोरेशन प्रमुख लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति लक्ष्मण ऐडी, नेपाली कांग्रेसका जिल्ला उपसभापति कैलाश भण्डारी, नेकपाका जिल्ला सचिव धर्मराज बोहरा, नेकपा एमालेका जिल्ला अध्यक्ष ज्ञामी बुमीलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।









