२०८३ भदौ २७ , शनिबार

मिथ्या सूचनाविरुद्ध काठमाडौं सम्मेलन सुरु



मिथ्या सूचनाविरुद्ध दुईदिने काठमाडौं सम्मेलन सुरु भएको छ । सम्मेलनमा विज्ञहरुले आगामी २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनलाई लक्षित गरी अनलाइन र अफलाइन माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरुले संगठीत रुपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताए ।

सम्मेलनमा प्रस्तुत देशभरी गरिएको अध्ययन निष्कर्षमा नेपालमा करिव २८ प्रतिशत नागरिकले मिथ्या सूचना फेला पार्ने, त्यस्ता सूचना फेसबुकलगायत सोसल मिडियामा बढी हुने र विशेषगरी राजनीतिक विषयवस्तुमा हुने तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर-नेपाल) ले काठमाडौंमा आयोजना गरेको सम्मेलनका वक्ताहरू र कार्यपत्र प्रस्तुत गर्दै अध्येताहरूले मिथ्या सूचनाले जनमतलाई पार्न सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन जरुरी भएको बताए ।

मणिपाल एकेडेमी अफ ह्यायर एडुकेशनकी प्रा.डा. पद्मा रानीले आफ्नो विद्धत प्रवचनमा प्रविधि र पहुँचले गर्दा सही सूचना र मिथ्या सूचनाबीचको अन्तर थाहा पाउन जटिल भएको जानकारी दिए  ।

प्रा. रानीले सोसल मिडियाका साथसाथै मूलधारका मिडियाबाट समेत मिथ्या सूचना आउने गरेकाले त्यसका विरुद्ध मिडिया, नागरिक समाज, विज्ञ, नागरिक समाज, सरकारलगायत लाग्नु पर्ने धारणा व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक संकायका कार्यवाहक डिन डा. वामदेव अधिकारीले सोसल मिडियामार्फत डिजिटल वार भइरहेको उल्लेख गर्दै सत्यतथ्य पहिचान गर्न र आलोचनात्मक ढंगले हेर्न जरुरी भएको बताए ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा.कुन्दन अर्यालले मिडियाको परिदृश्य परिवर्तन भएको बताउनुभयो । उहाँले प्रविधि र सामग्रीले जनमत प्रभावित हुने भएकाले मिडियाले समाजको वृहत्तर हित हेर्नुपर्ने धारणा राखे ।

सिएमआर-नेपालका अध्यक्ष नवीन खतिवडाले अहिलेको सूचना परिवेशमा मिथ्या र सत्य के हो भन्ने अन्यौल भएको अवस्थामा यस विषयका छलफल र सम्मेलन सहयोग गर्ने बताएका थिए ।

विज्ञ डा. धिरेन्द्र नाल्बोले मिथ्या सूचनाले जहाँत्यही चुनौती थपेको बताए । उहाँले निर्वाचनका बेला निर्वाचन अभियान र प्रोपागाण्डासँगै मिथ्या सूचना आउने भएकाले त्यसबाट जोगिन सचेत हुन जरुरी भएको जानकारी दिए ।

सञ्चार विज्ञ डा.विनोद भट्टराईले मिडियाको प्रयोग गर्ने शैलीमा विगत र अहिले व्यापक परिवर्तन भएको उल्लेख गर्दै तथ्यमा आधारित जनता चाहनाका विषयलाई प्राथमिकता नदिने हो भने पत्रकारिता अझ बढी संकुचित हुने बताए ।

सम्मेलनमा कर्णाली प्रदेशमा मिथ्या सूचनाको प्रभाव, मिथ्या सूचनाबारे जनताको दृष्टिकोण, जनकपुरका युवामा मिथ्या सूचनाको प्रभाव, मुस्लिम समुदायप्रति मिडियामा हुने गलत भाष्यसम्बन्धी अनुसन्धान प्रस्तुत गरिएको थियो ।

त्यसैगरी जेनजी आन्दोलनमा डिस्कर्डको प्रभाव, समाचार कक्षमा एआइको प्रयोग, सुरक्षामा सूचना अनसन्तुलनको प्रभाव, समाचार शाखामा फ्याक्ट चेकिङ, पत्रकारिता शिक्षा र मिथ्या सूचना, मधेश प्रदेशमा सोसल मिडियाको प्रयोग र त्यसकव असर, नेपालमा फ्याक्ट चेकको अवस्था, पत्रकारिताका विद्यार्थीमा मिडिया साक्षरता लगायतका अनुसन्धान प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा १०० जना भन्दा बढीको सहभागिता थियो । सम्मेलन आइतबार पनि चल्नेछ । आइतबारको सत्रमा मिथ्या सूचनाको प्रतिकार, मिथ्या सूचना प्रतिकारमा मिडिया शिक्षाको भूमिका, मिथ्या सूचनाको प्रतिकारमा मिडियाको भूमिका, जलवायु विषयमा मिथ्या सूचना र सोसल मिडिया प्लेटफर्महरूको जिम्मेवारी विषयसँग छलफल गरिनुका साथै सोसल मिडियामा सामग्री निर्माताहरबारे गरिएको अध्ययनको नतिजा प्रस्तुत गरिनेछ ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।