२०८३ भदौ २७ , शनिबार

वीरेन्द्रनगरलाई महिलामैत्री शहर बनाउन गणेशचोकको डिजाइन प्रमाणीकरण



कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई महिलामैत्री शहर बनाउन समुदायस्तरमा छलफल गरिएको छ।

वीरेन्द्रनगर–५ मा रहेको गणेशचोक वरपरको खुला क्षेत्रको डिजाइन प्रमाणीकरणबारे आइतबार छलफल भएको हो।

सहरी योजनाकार सुगम गौतमका अनुसार गणेशचोकको खुला क्षेत्रमा संरचना निर्माणका लागि यसअघि समुदायसँग सह–डिजाइनको चरणमा छलफल भएको थियो।

समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको सुझाव र चाहना अनुसार तयार भएको डिजाइनलाई औपचारिक रूपमा प्रमाणीकरण गर्न पुनः छलफल गरिएको उनले बताए।

उनका अनुसार देशभरका सात स्थानीय तहमा लागू गरिएको महिलामैत्री शहर परियोजना अन्तरगत वीरेन्द्रनगरमा डेढ वर्षदेखि कार्यक्रम सञ्चालन भइरहेको छ।

“पहिलो चरणमा वडाका विभिन्न खुला क्षेत्रहरू पहिचान गरी, समुदायको प्राथमिकताअनुसार तीन स्थान छनोट गर्‍यौं र सह–डिजाइन गर्‍यौं,” गौतमले बताए, “आज त्यही डिजाइन प्रमाणीकरणका लागि समुदायसँग छलफल गरिएको हो ।”

परियोजनाअन्तर्गत वीरेन्द्रनगरका तीन खुल्ला क्षेत्रमा महिलामैत्री शहरको अवधारणामा आधारित पूर्वाधार जस्तै आराम गृह, सार्वजनिक शौचालय, बालबालिका खेल्ने स्थान, सबैको पहुँचयोग्य पैदल लेन, बगैँचा लगायतका संरचना निर्माण हुनेछन्।

वडा–५ की वडा सदस्य नम्रता कार्कीका अनुसार परियोजनाले समतामूलक, महिलामैत्री र लैंगिकमैत्री वीरेन्द्रनगर निर्माणमा टेवा पुर्‍याउनेछ।

त्यस्तै, वडाका कार्यवाहक अध्यक्ष वासुदेव आचार्यले गणेशचोक बजार क्षेत्रको मुख्य आकर्षण भएको उल्लेख गर्दै, “परियोजना सम्पन्न भएपछि यो क्षेत्र थप आकर्षक बन्नेछ र पर्यटक आगमन पनि बढ्ने,” उनले बताए ।

छलफलमा समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि, बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्ति, लैंगिक अल्पसंख्यक तथा पूर्व जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।