२०८३ असोज १० , शनिबार

हुम्लाका उच्च हिमाली भेगमा वर्षकै पहिलो हिमपात, जनजीवन प्रभावित



हिमाली जिल्ला हुम्लाको उत्तरी उच्च हिमाली क्षेत्रमा यस वर्षकै पहिलो हिमपात भएको छ। शुक्रबार बिहानदेखि लगातार वर्षा भएपछि साँझबाट सुरु भएको हिमपात शनिबार पनि जारी रहेको छ ।

हिमपातसँगै उत्तरी हुम्लामा चिसो बढेको छ भने जनजीवनसमेत प्रभावित भएको छ।

चीनसँगको प्रमुख सीमा नाका हिल्सामा मात्रै करिब एक फिट बाक्लो हिउँ जमेको छ। हिमपातका कारण स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुहरूलाई आवतजावतमा कठिनाइ भइरहेको स्थानीय व्यवसायी जय भण्डारीले जानकारी दिए।

 

पाँच हजार मिटरभन्दा बढी उचाइमा रहेका क्षेत्रमा हिमपात भएपछि उत्तरी हुम्लामा चिसो ह्वात्तै बढेको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए।

हिल्सा र न्यालु लेकसहित सदरमुकाम सिमकोट आसपासका उच्च पहाडी तथा हिमाली क्षेत्रहरू हिमपातका कारण सेताम्मे बनेका छन्। जिल्लाका अन्य क्षेत्रमा भने अत्यधिक वर्षा भइरहेको स्थानीयले बताएका छन्।

हुम्लामा यस वर्ष विगतको तुलनामा चाँडै हिमपात सुरु भएको हो। गत वर्ष असोज २४ गते पहिलो हिमपात भएको थियो। यस वर्ष भने करिब दुई साताअगावै उच्च हिमाली क्षेत्रमा हिउँ परेको हो।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।