२०८३ साउन १२ , मंगलबार
भूमिहीनलाई लालपुर्जा

चौकुनेका भूमिहीन नागरिकलाई जग्गाधनी लालपुर्जा वितरण



चौकुने गाउँपालिकामा १०४ भूमिहीनलाई मुख्यमन्त्री कँडेलले जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै सबैलाई जग्गाधनी बनाउने अभियानलाई गति दिने प्रतिबद्धता व्यक्त गरे।

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाले वडा नम्बर ७ र ८ का भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको छ। मङ्गलवार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १०४ जना भूमिहीनलाई प्रमाण–पुर्जा हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले जसको नाममा जग्गा छैन, उसले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न नसक्ने भन्दै सरकारले सबै नागरिकलाई जग्गाधनी बनाउने अभियान चलाइरहेको बताए।

उनले भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकार नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरे।

मुख्यमन्त्री कँडेलले भने, “हामी सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न चाहन्छौँ। त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ।” उनले बाँकी रहेका भूमिहीन तथा सुकुम्वासी परिवारलाई पनि न्याय सुनिश्चित गर्दै प्रमाण–पुर्जा वितरणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्ट, जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनार, भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतका संयोजक तथा सदस्यहरू, चौकुने गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।