हुम्ला जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत वर्षभन्दा केही सुधार भएको छ । गत वर्ष ४९.६३ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकोमा यो उत्तीर्ण विद्यार्थी ५१.६० प्रतिशत पुगेको छ ।
गत वर्षको तुलनामा १.९७ प्रतिशतले सुधार भएको जिल्ला शिक्षा समन्वय इकाई निमित्त प्रमुख योगेश आले मगरले बताए । उनका अनुसार, नियमित परीक्षामा सहभागी भएका ९ सय ३६ परीक्षार्थीमध्ये ४ सय ८३ उत्तीर्ण भए भने ४ सय ५३ जना अनुत्तीर्ण भएका छन् । जसमा, ३.६ देखि ४ जिपिए २० जना, ३.२ देखि ३.६ जिपिएसम्म ८९ जना , २.८ देखि ३.२ जिपिएसम्म २ सय २१ जना, २.४ देखि २.८ जिपिएसम्म १ सय ५० जना र २ देखि २.४ सम्म ल्याउने ३ जना रहेका छन् ।
कुन गाउँपालिकामा कत्ति विद्यार्थी उत्तीर्ण
हुम्ला जिल्लाको सात वटा गाउँपालिकामा कुल २७ वटा माध्यमिक विद्यालय छन्। जसमा नाम्खा गाउँपालिकाबाट कुल ३८ परीक्षार्थी सहभागी भएकोमा २१ जना उत्तीर्ण हुँदा १७ जना अनुत्तीर्ण, सिमकोबाट १ सय ९५ सहभागी भएकोमा ५१ जना उत्तीर्ण हुँदा १ सय ४४ विद्यार्थी अनुत्तीर्ण र खार्पुनाथबाट ८८ परीक्षार्थी सहभागी भएकोमा २५ उत्तीर्ण हुँदा ६३ जना अनुत्तीर्ण भएका छन्।
स्थानीय तहहरूमा सबैभन्दा बढी चंखेली गाउँपालिकाबाट विद्यार्थीहरू उत्तीर्ण भएका छन् भने सबैभन्दा कम सिमकोट गाउँपालिकाबाट उत्तीर्ण भएको निमित्त प्रमुखले जानकारी दिए ।
जिल्लाबाट उत्कृष्ट जिपिए ल्याउने साधारणतर्फ ज्ञानोदय माध्यमिक विद्यालय अदानचुलीका कमल महतारा ३.९५ जिपिए ल्याएका छन् भने प्राविधिकतर्फ चन्द्रप्रकाश माध्यमिक विद्यालय ताजाकोटबाट वन्दना देवकोटा ३.५१ जिपिए ल्याएर उत्तीर्ण भएकी छन् ।
२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । हुम्ला जिल्लाबाट परीक्षामा प्राविधिक धारतर्फ ८९ जना र साधारणतर्फ ८ सय ४७ जना विद्यार्थी सहभागी भएका थिए ।









