
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई महिलामैत्री शहरका रूपमा विकास गर्ने उद्देश्यसहित बिरेन्द्रनगर–९ लाटीकोइलीस्थित शिव मन्दिर क्षेत्रको इको पार्क डिजाइन प्रमाणीकरण सम्पन्न भएको छ ।
कार्यक्रम संयुक्त राष्ट्रसंघको कार्यान्वयन निकाय युएनओपीएस अन्तर्गत सञ्चालित सिक्युरिटी एन्ड जस्टिस प्रोजेक्ट र महिलामैत्री शहर परियोजनाले संयुक्त रूपमा आयोजना भएको थियो । युके एड, युरोपियन युनियन र फिनल्याण्ड सरकारको सहयोगमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष ऋषि गिरीको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्चार्जको प्रमुख आतिथ्यता तथा वरिष्ठ परियोजना प्रबन्धक साइमन ओ’ब्राइनको विशेष उपस्थिति थियो ।

सहरी योजनाअन्तर्गत बन्ने इको पार्कलाई महिलामैत्री, सबैको पहुँचयुक्त र वातावरणमैत्री सार्वजनिक स्थलका रूपमा विकास हुनेछ । परियोजनाअन्तर्गत आराम गृह, सार्वजनिक शौचालय, बालबालिका खेल्ने स्थान, बगैँचा, पहुँचयुक्त पैदल मार्गलगायत पूर्वाधार निर्माण हुने छन ।
समुदायसँग सह–डिजाइनको चरणमा छलफल भई स्थानीयको सुझाव र प्राथमिकताअनुसार डिजाइन तयार गरिएको सहरी योजनाकार सुगम गौतमले बताए । “पहिलो चरणमा वडाभित्रका विभिन्न खुला स्थानहरू पहिचान गरी, समुदायको प्राथमिकताअनुसार लाटीकोइली क्षेत्र छनोट गरियो र सह–डिजाइन तयार पारियो,” उनले बताए, “आज सोही डिजाइनको औपचारिक प्रमाणीकरणका लागि छलफल गरिएको हो ।”
महिलामैत्री शहर परियोजनाकी निलमा थापाका अनुसार, यस परियोजनाले समतामूलक, महिलामैत्री र लैंगिकमैत्री वीरेन्द्रनगर निर्माणमा महत्वपूर्ण योगदान गर्ने बताएकी छन् । “परियोजना सम्पन्न भएपछि महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा लैंगिक विविधता भएका सबैका लागि सुरक्षित, सहज र पहुँचयुक्त सार्वजनिक स्थान उपलब्ध हुने उनले भनिन् ।”
सुरक्षा तथा न्याय कार्यक्रमको प्रमुख मीरा चौधरीले लाटीकोइली पार्कलाई सुरक्षित र समावेशी सार्वजनिक स्थल विकासको नमूना बनाइने उल्लेख गर्दै, यससँगै सारा स्क्यान पनि गरिएको जानकारी दिइन ।
सुरक्षा तथा न्याय कार्यक्रम सत्रमा ३५ टोलका १०७ जना सहभागी भई मादक पदार्थ दुरुपयोग, घरेलु हिंसा र अन्य सुरक्षा चुनौतीहरू पहिचान गरियो । सहभागीहरूले स्थानीय सरकार, प्रहरी र समुदायबीच सहकार्य गर्दै पार्कलाई सुरक्षित र आकर्षक बनाउने प्रतिबद्धता जनाएका थिए ।
वडाका वडाअध्यक्ष ऋषि गिरीले शिव मन्दिर क्षेत्र विभिन्न कार्यक्रमले मानिसहरूको मुख्य आकर्षणको केन्द्र बनेको उल्लेख गर्दै भने, “परियोजना सम्पन्न भएपछि यो क्षेत्र अझ सुन्दर र आकर्षक बन्नेछ, जसले पर्यटक आगमनमा पनि वृद्धि गर्नेछ ।”
छलफलमा समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि, बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्ति, लैंगिक अल्पसंख्यक तथा जनप्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो ।
साथै, टोलका बासिन्दालाई सक्रिय रूपमा संलग्न गराउँदै हाल निष्क्रिय रहेका केही टोल विकास समितिहरूलाई समेत पुनः सक्रिय बनाउने कार्य अघि बढाइएको आयोजकले जनाएका छन ।











प्रतिक्रिया दिनुहोस्