नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठुला राजनीतिक दलहरू मिलेकाले तीनै तहका सरकार स्थिर भए पनि काममा केही गुनासाहरू रहेको बताएका छन् ।

उनले अहिले राजनीतिक स्थिरता भए पनि डेलिभरी भएन भन्ने गुनासाहरू रहेको बताउँदै सत्तामा रहेका राजननीतिकर्मीहरुले नै असन्तुष्टि बाँड्ने काम भइरहेको बताए ।
नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा अहिले सङ्घदेखि स्थानीय तहसम्मका सरकार स्थिर भएका छन्,’ सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, तीन तहका सरकारहरूले गरेका कम, भएका कमजोरी र देशको अर्थतन्त्रको अवस्थाका बारेमा जानकारी नदिई राजनीतिकर्मीहरुले नै चोक, चिया–चौतारीहरुमा बसेर असन्तुष्टि बाँड्ने काम भइरहेको छ ।
उनले यस पटकको केन्द्रीय समिति बैठक ऐतिहासिक भएको बताए ।
पार्टी सभापतिज्यूले सबैलाई आफ्ना कुराहरू खुलस्त राख्न भन्नुभयो, सबैले आ–आफ्ना कुरा राख्नुभयो,’ उनले भने, सात दिनसम्म चलेको बैठकले सर्वसम्मत निर्णय गर्यो, उपस्थिति, प्रस्तुति र निर्णयका हिसाबले यो बैठक ऐतिहासिक रह्यो ।’ उनले बैठकमा सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारले गरिरहेका कामहरूको समीक्षा भएको बताए ।
उनले अनुशासन समितिको निर्णय केन्द्रीय समितिले नगर्ने बताए । पार्टी विधानले केन्द्रीय अनुशासन समितिले गरेको निर्णय चित्त नबुझ्ने व्यक्तिहरूले केन्द्रीय सभापतिमार्फत केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्न पाउने व्यवस्था छ,’ उनले भने ।
उपसभापति खड्काले क्रियाशील सदस्यता वितरण, नवीकरणलगायतका विषयमा विधान लेनै जिल्लालाई अधिकार दिएको बताउँदै सदस्यता वितरण, नवीकरणलगायतका कामलाई तत्काल अघि बढाउन निर्देशन दिए ।
यो सङ्गठनको नियमित गर्नुपर्ने पहिलो कर्तव्य हो,’ उनले भने, पार्टी सदस्यता वितरण र नवीकरणलाई निरन्तर अभियानका रूपमा अघि बढाउनुहोस् ।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिँदै जनताका इच्छा र आकाङ्क्षा अनुसार तीव्र गतिमा कामहरू गर्नुपर्ने बताए ।
उनले जिम्मेवारीमा रहेकाहरू लोभमुक्त भए धेरै सुधार हुने बताए । राजनीतिकर्मी लोभबाट मुक्त हुनुपर्यो, लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ,’ उनले भने, डरबाटमुक्त भएको मानिस शीर ठाडो गरेर हिँड्छ ।











प्रतिक्रिया दिनुहोस्