२०८३ वैशाख ६ , आइतबार

भेरीगंगामा वडाध्यक्षको आक्रोश : बजेट कटौतीको विरोधमा मोबाइल फुटाउँदै नगरसभा बहिष्कार



सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष दिनेश पुलामीले नगरसभामा आफ्नो वडाको बजेट कटौती गरिएको भन्दै अभूतपूर्व ढंगले आक्रोश व्यक्त गर्दै मोबाइल फुटाएका छन् ।

भेरीगंगा नगरपालिकाको १७औँ नगरसभामा वडाध्यक्ष पुलामीले नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलको सामु बजेट पुस्तिका च्यातेर फाल्नुका साथै कुर्सी समेत पछारेका हुन् ।

बैठकमा उनले आफैं निर्वाचित जनप्रतिनिधिको हैसियतमा जानकारी नै नदिई बजेट कटौती गरेकोप्रति गुनासो गर्दै ‘आफूलाई फोन गर्नुपर्थ्यो, थाहा नै नदिएर बजेट काट्ने को हो ?’ भन्दै प्रश्न गरे ।

पुलामीले कार्यपालिका सदस्यदेखि नगरप्रमुखसम्मले बजेट बाँड्दा ध्यान नदिएको तर आफ्नै वडाको ३० लाख रुपैयाँ बजेटमै सबैको नजर गएको बताए ।

‘हामीसँग मोबाइल थिएन भने लानुहोस्, नत्र म यही फोडिदिन्छु,’ भन्दै आक्रोशित पुलामीले बैठकमै मोबाइल भुईंमा हानेर फुटाए ।

उनले आफ्नो वडाको बजेट अरूलाई लैजान कुनै फरक नपर्ने भन्दै भने, ‘त्यो बजेट चाहिँदैन, तपाईँहरू लैजानुहोस्, केही फरक पर्दैन ।’

पुलामीले बाँकी दिनमा यसको हिसाबकिताब गर्ने चेतावनी दिँदै नगरसभा बहिष्कार गरेर बैठकस्थल छाडेका छन् ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार