२०८३ भदौ ३० , मंगलबार

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता



कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध नेपाली कांग्रेस र नेकपाका प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

नेकपाका ११ र नेपाली कांग्रेसका ५ गरी १६ जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

उनीहरूले नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन्।

नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जीसीका अनुसार नयाँ सत्ता गठबन्धन निर्माण गर्ने उद्देश्यका साथ अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। यसअघि बुधबार एमाले नेतृत्वको कर्णाली सरकारबाट कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका थिए।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४ जना सांसद रहे पनि अविश्वास प्रस्तावमा कांग्रेसका ५ जनाको मात्र हस्ताक्षर रहेको छ। प्रदेशसभा नियमअनुसार अविश्वास प्रस्ताव दर्ता गर्न प्रदेशसभाका कुल सदस्य संख्याको कम्तीमा २५ प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था छ।

प्रदेश सभा सचिवालयमा दर्ता गरिएको प्रस्तावमा नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम १५२ को उपनियम (२) बमोजिम मुख्यमन्त्री यामलाल कँडेलमाथि प्रदेशसभाको विश्वास नरहेको उल्लेख गरिएको छ।

त्यसैगरी संविधानको धारा १८८ को उपधारा (५) अनुसार कांग्रेसका जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।

प्रस्तावलाई आगामी प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गरी आवश्यक प्रक्रियाअनुसार छलफल गराउन प्रदेश सभा सचिवालयसँग अनुरोध गरिएको छ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यहरूमा मंगलबहादुर शाही, राजकुमार शर्मा, कृष्णबहादुर जीसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कीत लामा (कार्की), वीरबहादुर शाही, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का रोका, रणसिंह परियार, हिकमतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र कृष्णकुमार विक रहेका छन्।

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।