डोल्पा जिल्लाको काईके गाउँपालिका–४, रिवा र त्रिपुरासुन्दरी नगरपालिका–३ भित्ति क्षेत्रमा असार १२ गते राति र १३ गते बिहान भीषण वर्षापछि आएको पहिरो र बाढीले ठूलो जनधन र संरचनात्मक क्षति पुर्याएको छ।
गाउँपालिका-४ अन्तर्गत पर्ने रिबा गाउँमा पूर्ण, आंशिक र सामान्य गरी करिब ५३ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी रूकबहादुर खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार चार घरमा लेदो पस्दा पूर्ण क्षति भएको छ भने पुथा आधारभूत विद्यालयको चारकोठे कच्ची भवन पूर्ण रूपमा क्षति भएको छ । बाढीबाट विद्यालयका कम्प्युटर, सीसीटीभी, दिवा खाजा, भवन संरचनालगायतमा करिब २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीको अनुमान रहेको छ ।
त्यस्तै, सोही वडाका मनराज बिक, सुरेन्द्र बिक र धनलाल सुनारका घरहरूमा पनि गम्भीर क्षति पुगेको छ। पहिरोले उनीहरूका तीनतले र दुईतले घरमा ठुलो क्षति पुर्याएको छ भने थप १२ घर आंशिक रूपमा र ४० घर सामान्य रूपमा प्रभावित भएका छन्।
प्रारम्भिक विवरणअनुसार रिवा क्षेत्रमा मात्र करिब १ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको प्रहरी मुचुल्कामा उल्लेख छ । हालसम्म जनधन तथा पशुचौपायाको क्षति नभएको जनाइएको छ ।
वर्षापछि एक्कासि आएको लेदोसहितको बाढीले खेतबारीमा लगाइएको बालीनालीमा समेत असर पुर्याएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्