२०८३ भदौ २७ , शनिबार

दुल्लु नगरपालिकामा खुल्ला उप–प्रमुख कप महिला भलिबल प्रतियोगिता हुने



 

दैलेखको दुल्लु नगरपालिकाले नगरस्तरीय खुल्ला उप–प्रमुख कप महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालयले वडाहरूलाई पत्राचार गर्दै प्रतियोगितामा सहभागिताका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको हो।

कार्यालयद्वारा जारी पत्रअनुसार प्रतियोगिता बैशाख २६ गतेदेखि २८ गतेसम्म दुल्लु नगरपालिका–७ स्थित त्रिपाल व्यायामशालाको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा प्रत्येक वडाबाट १ टोली अनिवार्य रूपमा सहभागी गराउन अनुरोध गरिएको छ।

आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बुढा क्षेत्रीले बताए ।

प्रतियोगितामा सहभागी टोलीमा ९ जना खेलाडी हुनुपर्ने उनले बताए । यस्तै खेलाडीहरू सम्बन्धित वडाका स्थायी बासिन्दा हुनुपर्ने तथा टोली दर्ताका क्रममा वडाको सिफारिससहित नेपाली नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने चिठीमा उल्लेख गरिएको छ ।

प्रथम हुने टोलीलाई २५ हजार रुपैयाँ, द्वितीयलाई २० हजार, तृतीयलाई १५ हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने उल्लेख छ ।

टोली दर्ताको अन्तिम मिति बैशाख २५ गते अपराह्न ५ बजेसम्म तोकिएको छ। प्रतियोगितामा सहभागी टोलीका लागि बिहानको खाजाको व्यवस्था नगरपालिकाले गर्ने जनाएको छ भने खेलका क्रममा हुन सक्ने सामान्य चोटपटकका लागि प्राथमिक उपचार सम्बन्धित टोलीले नै व्यवस्थापन गर्नुपर्नेछ।

नगरपालिकाले पत्रमार्फत वडाहरूलाई आफ्ना क्षेत्रका महिला खेलाडीहरूलाई प्रोत्साहित गर्दै प्रतियोगितामा सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ। प्रतियोगिताको थप जानकारीका लागि खेलकुद विकास समितिका अध्यक्ष उमेश कुमार शाह र सदस्य सचिव रमेश प्रसाद उपाध्यायलाई सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।