२०८३ वैशाख १० , बिहीबार

बढुवा प्रक्रियामा गृहसचिव बाधक, सशस्त्र प्रहरीको वृत्ति विकास ठप्प

चार वर्षे कार्यकाल पूरा गर्दै वैशाख १८ बाट बिदा हुँदै गरेका आईजीपी राजु अर्यालद्वारा अन्तिम समयमा बढुवा प्रक्रिया अघि बढाउन पहल


सशस्त्र प्रहरी बल (एपीएफ)का महानिरीक्षक (आईजीपी) राजु अर्याल वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। २०७९ वैशाख १८ मा आईजीपीमा बढुवा भएका अर्यालले चार वर्षे कार्यकाल पूरा गर्दै बिदा लिन लागेका हुन्।

कार्यकालभर ठूला विवादमा नतानिएका अर्यालले अन्तिम समयमा भने संगठनभित्र लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया अघि बढाउन उल्लेख्य पहल गरेका छन्। बढुवा अवरुद्ध हुँदा सशस्त्र प्रहरीभित्र माथिल्लो तहदेखि तल्लो तहसम्म वृत्ति विकास ठप्प भएको छ।

उच्च तहमा बढुवा नखुल्दा क्रमशः तल्ला तहमा पद रिक्त हुँदै गएको छ। हाल करिब ७ डीआईजी, ९ एसएसपी, २० एसपी, २० डीएसपी, ४० इन्स्पेक्टर, ३५ वरिष्ठ सई, ८० असई तथा तल्लो तहमा ३५० भन्दा बढी पद पाँच महिनादेखि रिक्त रहेको बताइन्छ।

मन्त्रिपरिषद्को २०८२ मंसिर २ गतेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) प्रतिवेदनले २२९ नयाँ पद सिर्जना गरे पनि ती पदमा अहिलेसम्म पदपूर्ति हुन सकेको छैन। यसबीच विभिन्न समयमा डीआईजीहरू अवकाशमा जाँदा थप पद खाली भएका छन्।

आईजीपी अर्यालले निवर्तमान गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठसँग पटक–पटक बढुवा प्रक्रिया खुलाउन आग्रह गरेका थिए। मन्त्रीस्तरबाट निर्देशन भए पनि गृहसचिवले प्रक्रिया अघि नबढाएको स्रोतको दाबी छ। यद्यपि गृहसचिव श्रेष्ठले छिट्टै बढुवा प्रक्रिया अघि बढ्ने र कसैको वृत्ति विकास रोक्ने उद्देश्य नभएको बताएका छन्।

स्रोतका अनुसार सिनियारिटीका आधारमा बढुवा गर्ने कि केही व्यक्तिलाई छुटाएर सूची तयार गर्ने भन्ने विषयमा विवाद छ। यसले संगठनभित्र असन्तोष झनै बढाएको छ। कर्मचारीहरूका अनुसार बढुवा केवल पद प्राप्तिको विषय मात्र नभई सम्मान, मेहनतको मूल्यांकन र भविष्यसँग जोडिएको विषय हो।

नियमअनुसार अवकाशअघि पाँच वर्ष एउटै पदमा बसेका कर्मचारीले एक तहको विशेष बढुवा पाउने व्यवस्था भए पनि प्रक्रिया अवरुद्ध हुँदा धेरै कर्मचारी उक्त अवसरबाट वञ्चित हुने जोखिममा छन्।

बढुवा ढिलाइका कारण अनुभवी कर्मचारी पछाडि पर्ने र नयाँ कर्मचारी भविष्यमा सिनियर बन्ने सम्भावना बढ्ने भन्दै संगठनभित्र असन्तुष्टि चुलिँदै गएको छ। कर्मचारीहरूले तत्काल रिक्त पदमा बढुवा प्रक्रिया अघि बढाउन माग गरेका छन्।

रिक्त पदका लागि एसएसपीहरू प्रवीण कँडेल, दिगविजय सुवेदी, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुदिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, राजेन्द्र खड्का, उद्धव न्यौपाने, नरेन्द्र सेन, शंकर खनाल, किरण ढुंगाना, राजेश उप्रेती र नेत्र कार्की लगायत प्रतिस्पर्धामा रहेका छन्।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार