२०८३ वैशाख ६ , आइतबार

हुम्लाका ६ पालिकाले सार्वजनिक गरे बजेट

पूर्वाधार, कृषि र शिक्षा प्राथमिकतामा


हुम्ला जिल्लाका सात स्थानीय तहहरूमध्ये छ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्ना नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। असार १० र ११ गतेसम्ममा चङ्खेली गाउँपालिका बाहेकका सबै पालिकाले बजेट सार्वजनिक गरेका हुन्।

यसपटक सबै पालिकाको बजेट पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा केन्द्रित देखिएको छ। संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान नै सबै पालिकाको बजेटको प्रमुख स्रोत बनेको छ।

सिमकोट गाउँपालिकाको सबैभन्दा ठूलो बजेट

सिमकोट गाउँपालिकाले यसपटक सबैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाले ११ औं गाउँसभामा प्रस्तुत गरेको बजेट कुल ६४ करोड ३६ लाख ७९ हजार २ सय ३ रुपैयाँ रहेको छ।

उक्त बजेटमध्ये २४ करोड ८ लाख ६९ हजार २ सय ३ पूँजीगत खर्चमा र ४० करोड २८ लाख १ हजार २ सय ३ चालू खर्चमा विनियोजन गरिएको छ। गत वर्षको तुलनामा यो बजेट उल्लेखनीय रूपमा वृद्धि भएको हो। अघिल्लो वर्ष सिमकोटको कुल बजेट ४९ करोड २८ लाख ४५ हजार रुपैयाँ थियो, जसमा पूँजीगत खर्च १६ करोड ४८ लाख २५ हजार र चालू खर्च ३२ करोड ४८ लाख २० हजार रुपैयाँ थियो।

सर्केगाड गाउँपालिकाको ५६ करोड बढीको बजेट

सर्केगाड गाउँपालिकाले कुल ५६ करोड ८३ लाख २९ हजार ६ सय ९२ रुपैयाँको बजेट ल्याएको छ। चालू खर्चतर्फ ३७ करोड ३३ लाख ७० हजार ६ सय ९२ र पूँजीगत खर्चतर्फ १९ करोड ४९ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ।

खार्पुनाथ गाउँपालिकाको बजेटमा ९ करोडको वृद्धि

खार्पुनाथ गाउँपालिकाले यस वर्ष ४७ करोड ६५ लाख ४ सय ९९ रुपैयाँको बजेट ल्याएको छ। चालू खर्चमा २७ करोड ८३ लाख ५ हजार २ सय ६१ र पूँजीगततर्फ १९ करोड ८१ लाख ९५ हजार २ सय ३८ रुपैयाँ विनियोजन गरिएको छ।

गत आर्थिक वर्षमा पालिकाको कुल बजेट ३७ करोड ९२ लाख ७६ हजार रुपैयाँ थियो। त्यसअनुसार चालु वर्षको बजेट झन्डै ९ करोडले वृद्धि भएको छ।

नाम्खा, ताजाकोट र अदानचुली गाउँपालिकाको बजेट विवरण

नाम्खा गाउँपालिकाले १३ औं गाउँसभामार्फत ३७ करोड ६८ लाख ५० हजार रुपैयाँको बजेट पारित गरेको छ। ताजाकोट गाउँपालिकाले भने ३६ करोड १५ लाख ९३ हजार ९ सय २५ रुपैयाँ विनियोजन गरेको छ। त्यसमा चालू खर्चतर्फ १८ करोड २३ लाख ९३ हजार ९ सय २५ र पूँजीगत खर्चतर्फ १७ करोड ९१ लाख ९९ हजार रुपैयाँ राखिएको छ। अघिल्लो आर्थिक वर्षमा ताजाकोटको कुल बजेट ३८ करोड ७२ लाख २४ हजार रुपैयाँ थियो।

अदानचुली गाउँपालिकाले १३ औं गाउँसभाबाट ३४ करोड ३७ लाख ९९ हजार ७ सय २३ रुपैयाँको बजेट पारित गरेको छ। उक्त बजेटमध्ये २२ करोड १५ लाख ९५ हजार ७ सय २३ चालूतर्फ र १२ करोड २२ लाख ४ हजार ४ पूँजीगततर्फ विनियोजन गरिएको छ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार