सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–३, उनापानीस्थित आगलागी पीडितलाई सिटिजन्स बैंक लिमिटेडले आपतकालीन राहत सामग्री वितरण गरेको छ। बैंकको सर्केगाड शाखाले सोमबार संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत राहत उपलब्ध गराएको हो।
शाखा प्रमुख सुवास भण्डारीका अनुसार पीडित हरेक परिवारलाई एक बोरा चामल, एक बोरा मैदा, प्रेसर कुकर, डेक्ची, पाँच थाल, पाँच कचौरा, पाँच गिलास, पाँच प्याकेट खानेतेल र डाडु पनिउ लगायत दैनिक उपभोग्य सामग्री प्रदान गरिएको छ।
राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया, उपाध्यक्ष देवकी तिमिल्सिना रोकाया, वडा अध्यक्ष, बैंकका कर्मचारी, सञ्चारकर्मी र स्थानीयको उपस्थिति रहेको थियो।
गत असार १ गते राति उनापानीको औल गाउँमा भीषण आगलागी हुँदा आठ घर पूर्णरूपमा नष्ट भएका थिए। एक साता बितिसक्दा पनि प्रदेश तथा संघ सरकारले कुनै सहयोग नगरेको भन्दै पीडित परिवारले गुनासो गरेका छन्। यद्यपि, स्थानीय सरकार तथा केही गैरसरकारी संस्थाहरूले प्रारम्भिक राहत प्रदान गरिरहेका छन्। स्थानीय बासिन्दाले पीडित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको बताएका छन्।











प्रतिक्रिया दिनुहोस्