२०८३ वैशाख ६ , आइतबार

हुम्लाको सिमकोटमा चैतलो पर्व सुरु, परम्परा जोगाउने चिन्ता बढ्दो



हुम्लाको सिमकोट गाउँपालिकामा मनाइने परम्परागत चैतलो पर्व आजबाट सुरु भएको छ। वसन्त ऋतुको आगमनसँगै श्रीमानको दीर्घायुको कामना गर्दै यो पर्व मनाउने परम्परा रहिआएको छ।

पर्वका अवसरमा ज्येष्ठताका आधारमा पङ्क्तिबद्ध भई ‘बाह्र भाइ मस्टो, नौ दुर्गा भवानी´ को बयान गाइँदै गीति-नाच खेल्ने गरिन्छ। देवदेवी तथा पञ्चभूत तत्वलाई खुसी पार्ने विश्वासका साथ मागल, आरती, चाचडी र चुड्किला जस्ता पुराना भाका गाएर पर्व सुरु गरिने स्थानीय जानका भण्डारीले बताउछिन् ।

दुई दिनसम्म चल्ने मेलामा महिलाहरू पहेँलो वस्त्र, घाँग्रो तथा चाँदी-सुनका गहनामा सजिएर भुवाखाड र चौपाडीमा चैतलो (देउडा) खेल्ने गर्छन्।

पुरुषहरू भने परम्परागत पहिरनमा राजा–रानी, मान्या, धान्च्या लगायतका खेल खेल्ने तथा छेलो हान्ने प्रतियोगितासमेत आयोजना हुने सिमकोट गाउँपालिका वडा अध्यक्ष देवजंग बोहराले जानकारी दिए।

‘पहिले छेलो प्रतियोगिता हेर्न टाढाटाढाबाट मानिसहरू आउँथे, तर पछिल्लो समय युवाबीच विवाद बढ्दा पाहुनाको संख्या घट्दै गएको छ,’ उनले भने।

स्थानीय किंवदन्तीअनुसार राक्षसले चैतलो खेलिरहेका बेला महिलालाई भगाएको घटनाको सम्झनामा पुरुषहरूले फोहर कपडा लगाई खरानी छर्दै रमाइलो गर्ने चलन रहेको हंसपाल देवताका धामी-डाङ्ग्री विर्य भण्डारीले बताए।

पछिल्ला वर्षहरूमा संस्कृति संरक्षणभन्दा गरगहना प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै गएको छ। बाहिरी संस्कृतिको प्रभाव र गाउँबाट बसाइँसराइ बढ्दै जाँदा मौलिक भाषा, पहिरन र परम्परा लोप हुने जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार