२०८३ वैशाख ४ , शुक्रबार

युवा मानवअधिकार रक्षक : मतदानको अधिकार र कर्तव्य



पुजा दमाई

मानव अधिकार केवल कानुनी प्रावधान होइन, मानव अस्तित्वसँग गाँसिएको जन्मसिद्ध मूल्य हो । व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र सम्मानको संरक्षण गर्नु राज्यको दायित्व हो, भने ती अधिकारको प्रयोग गर्नु नागरिकको जिम्मेवारी पनि हो । यस सन्दर्भमा मतदानको अधिकार लोकतन्त्रको आत्मा हो ।

तर प्रश्न उठ्छ-के हामी मतदानलाई केवल अधिकारका रूपमा बुझिरहेका छौँ, कि यसलाई कर्तव्यका रूपमा पनि आत्मसात् गरिरहेका छौँ ?

राष्ट्रिय युवा नीति २०८२ ले युवालाई राष्ट्र निर्माणको प्रमुख साझेदारका रूपमा परिभाषित गरेको छ । १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानेर उनीहरूको सक्रिय राजनीतिक, सामाजिक र आर्थिक सहभागितालाई सुनिश्चित गर्ने लक्ष्य नीतिले राखेको छ । ‘

यसले स्पष्ट सन्देश दिन्छ-युवा केवल दर्शक होइनन्, परिवर्तनका चालक शक्ति हुन् । त्यसैले मतदान प्रक्रियामा युवाको सक्रिय र जिम्मेवार सहभागिता अपरिहार्य छ ।

पछिल्लाे समय निर्वाचन नजिकिँदै गर्दा युवाको भूमिकामाथि गम्भीर प्रश्न खडा हुन्छ । के हामी विवेकपूर्ण निर्णय गर्न तयार छौँ ? कि भावनात्मक आग्रह, व्यक्तिगत सम्बन्ध, जातीय-क्षेत्रीय पक्षपात वा क्षणिक प्रलोभनको प्रभावमा पर्न तयार छौँ ?

लोकतन्त्रको गुणस्तर नागरिकको चेतनास्तरले निर्धारण गर्छ । ‘हाम्रो’ भन्दा ‘राम्रो’ रोज्ने संस्कार विकास नगरेसम्म राजनीतिक शुद्धीकरण सम्भव छैन ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा करिब ४२.५६ प्रतिशत जनसंख्या युवा वर्गको रहेको छ । यो तथ्यांक मात्र होइन, सम्भावनाको संकेत पनि हो । यति ठूलो जनशक्ति यदि सचेत र संगठित रूपमा उभियो भने नीति, नेतृत्व र शासनको स्वरूप परिवर्तन हुन समय लाग्दैन ।

तर यदि यही शक्ति मौन रह्यो वा गलत दिशामा प्रयोग भयो भने लोकतन्त्र कमजोर बन्छ ।

कतिपय अवस्थामा युवालाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिन्छ-प्रचार, भीड प्रदर्शन वा गलत सूचना फैलाउने माध्यमका रूपमा। सचेत युवा मानवअधिकार रक्षकले यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ । डर, धम्की वा प्रलोभनमार्फत मत प्रभावित गर्न खोजिएमा त्यसको विरोध गर्नु नै लोकतन्त्रप्रतिको निष्ठा हो ।

‘मेरो एउटा मतले के फरक पर्छ ?’ भन्ने सोच युवाले त्याग्न जरुरी छ । इतिहासले देखाएको छ-साना निर्णयले पनि ठूला परिणाम दिन सक्छन् । मत केवल कागजमा अंकित चिन्ह होइन; त्यो भविष्यको दिशानिर्देश हो ।

आज आवश्यक कुरा उत्साह मात्र होइन, विवेक हो । आवेग मात्र होइन, मूल्य-आधारित निर्णय हो । यदि युवाले आफ्नो मतलाई अधिकारसँगै दायित्वका रूपमा ग्रहण गरे भने विकास, सुशासन र समृद्धिको मार्ग स्वतः खुल्नेछ ।

देशको भविष्य कुनै एक नेताले होइन, नागरिकको सामूहिक निर्णयले निर्धारण गर्छ । सचेत युवा शक्ति नै लोकतन्त्रको आधारस्तम्भ हुन् । त्यसैले मतदानलाई अवसर होइन-उत्तरदायित्वका रूपमा बुझौँ । आजको सही निर्णयले नै भोलिको नेपाल निर्माण गर्छ ।

लेखक पुजा दमाई सुर्खेत जिल्ला युवा मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष हुन् ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार