प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै देशभर राजनीतिक बहस सुरु भएको छ। देशैभर नयाँ शक्तिको उदय देखिएको छ भने पुराना दलहरू कमजोर बनेका छन् र कतिपय ठाउँमा त स्वतन्त्र उम्मेदवारहरूले स्थापित राजनीतिक संरचनालाई चुनौती दिएका छन्। समग्र रूपमा हेर्दा यसपटकको निर्वाचनले नेपाली मतदाताले परिवर्तनको खोजी गरिरहेको संकेत दिएको छ।

यता, हिमाली जिल्ला हुम्लाको परिणाम भने देशका धेरै स्थानको प्रवृत्तिभन्दा धेरै फरक देखिएको छ। देशभर परिवर्तनको आवाज उठिरहेका बेला हुम्लाका मतदाताले भने पुरानै राजनीतिक धारलाई निरन्तरता दिएका छन्। यही सन्दर्भमा एउटा प्रश्न उठ्छ कि हुम्लावासीले परिवर्तन चाहेनन् कि परिवर्तनको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी र उक्त पार्टीबाट उम्मेदवार बनेकी टासी ल्हाजोमलाई विश्वास गर्न सकेनन् ?
देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतदाताले परम्परागत दलप्रति असन्तुष्टि देखाउँदै नयाँ अनुहारलाई अवसर दिएको देखिन्छ। केही स्थानमा स्वतन्त्र उम्मेदवारहरूले प्रभावशाली नेताहरूलाई पराजित गरेका छन् भने कतिपय पुराना पार्टीभित्र पनि नयाँ अनुहारलाई मात्र मतदाताले पत्याएको अवस्था छ। यसले मतदातामा परिवर्तनको चाहना रहेको स्पष्ट संकेत गर्छ।
तर हुम्लामा भने त्यो प्रवृत्ति बलियो रूपमा देखिएन। यहाँ राजनीतिक प्रतिस्पर्धामा नयाँ विकल्पका रूपमा प्रस्तुत भएका उम्मेदवारहरूले मतदाताको विश्वास जित्न सकेनन्। टासी ल्हाजोमले परिवर्तन, सुशासन र विकासको एजेन्डा अघि सारेकी थिइन्। उनले पुरानो राजनीतिक संस्कारबाट मुक्त नयाँ राजनीतिक अभ्यासको कुरा उठाउँदै चुनावी मैदानमा उत्रिएकी थिइन्। तर मतपरिणामले देखायो त्यो सन्देश मतदाताले पर्याप्त रूपमा ग्रहण गरेनन्।
यसको अर्थ हुम्लावासी परिवर्तनको विपक्षमा छन् भन्ने निष्कर्ष निकाल्न हतारो हुनेछ। सम्भवतः हुम्लाका मतदाताले परिवर्तनभन्दा बढी रोजिरोटी र विश्वासलाई प्राथमिकता दिएका हुन सक्छन्। परिवर्तनको नारा आकर्षक हुन सक्छ, तर त्यो नारा बोकेको नेतृत्व कत्तिको भरोसायोग्य छ भन्ने प्रश्न मतदाताका लागि अझ महत्वपूर्ण हुन सक्छ।
हुम्लाको सामाजिक र राजनीतिक संरचना पनि यसमा प्रभाव पार्ने एउटा बलियो पक्ष हो। यहाँ राजनीतिक दलहरूको संगठनात्मक जरा बलियो छ। गाउँ–समुदायमा पुराना सम्बन्ध, दलगत संरचना र व्यक्तिगत पहुँचले चुनावी परिणामलाई प्रभाव पार्ने गर्छ। यस्तो अवस्थामा नयाँ विकल्पले मतदाताको विश्वास जित्न लामो समयसम्म निरन्तर प्रयास गर्नुपर्छ।
अर्कोतर्फ, परिवर्तनको एजेन्डा उठाउने उम्मेदवारहरूले पनि स्थानीय स्तरमा संगठन निर्माण, मतदातासँग निरन्तर संवाद र दीर्घकालीन राजनीतिक उपस्थिती सुनिश्चित गर्नुपर्ने चुनौती हुन्छ। केवल निर्वाचन नजिकिँदा मात्रै देखिने अभियानले पुराना राजनीतिक संरचनालाई सजिलै विस्थापित गर्न सक्दैन।
यसपटकको परिणामबाट हुम्लाका मतदाताले एउटा स्पष्ट सन्देश दिएका छन्। त्यो हो परिवर्तनको कुरा मात्रै पर्याप्त हुँदैन, विश्वास पनि जित्नुपर्छ।त्यसैले अहिलेको बहसलाई केवल हार–जितको दृष्टिले मात्र हेर्नु पर्याप्त हुँदैन। बरु यसले हुम्लाको राजनीतिक संस्कार, मतदाताको मनोविज्ञान र परिवर्तनको सम्भावनाबारे गहिरो प्रश्न उठाएको छ।
अन्त्यमा, फेरि त्यही प्रश्न उभिन्छ।
हुम्लावासीले परिवर्तन अस्वीकार गरेका हुन् कि परिवर्तनको दाबी गर्ने नेतृत्वलाई अझै विश्वास गर्न सकेका छैनन् ?
यस प्रश्नको उत्तर आगामी दिनमा टासीको राजनीति र नेतृत्वले दिनेछ।











प्रतिक्रिया दिनुहोस्