आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हुम्लाको नाम्खा गाउँपालिका-५ अन्तर्गत ४ हजार ९४९ मिटर उचाइमा रहेको नारा लेक क्षेत्रमा जमेको हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

हिमपातका कारण अवरुद्ध बनेको नारा लेक मार्ग खुलाउने उद्देश्यले लिमि क्षेत्रका मतदातालाई आवत-जावत सहज बनाउन सडक सफाइ कार्य सुरु गरिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिल्सा-सिमकोट सडक योजनामार्फत स्काभेटरसहितको प्राविधिक टोली नारा लेकतर्फ पठाइएको छ।
यसअघि नाम्खा गाउँपालिका-५ को ठाडाढुंगासम्म अनुगमन सम्पन्न भइसकेको र अब करिब १३ किलोमिटर दूरीमा जमेको हिउँ पन्छाउने काम अघि बढाइएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिएका छन्।
सदरमुकाम सिमकोटबाट उक्त क्षेत्रमा हिउँ हटाउन आवश्यक उपकरणसहितको टोली परिचालन गरिसकिएको उनले बताए ।
नारा लेकबाट हिउँ हटाइएपछि लिमि क्षेत्रका मतदातालाई निर्वाचनमा सहभागी हुन आउजाउ गर्न सहज हुने विश्वास गरिएको मुख्य निर्वाचन अधिकृत बरालले बताएका छन्।











प्रतिक्रिया दिनुहोस्