आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार कुलमणी देवकोटाले पश्चिम सुर्खेतको समग्र विकासमा नेकपा एमाले प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ गुटुको विशाल बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै देवकोटाले प्राकृतिक सम्पदाले भरिएको पश्चिम सुर्खेतलाई विकासको केन्द्र बनाउन एमाले दृढ संकल्पका साथ अघि बढेको बताए ।
चुनावी प्रचारका क्रममा मतदाताबाट व्यापक शुभेच्छा र समर्थन प्राप्त भएको उल्लेख गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गरेर वर्तमान अवस्थाबाट देशलाई निकास दिन आग्रह गरे ।
देवकोटाले निर्वाचन स्वच्छ प्रतिस्पर्धामार्फत प्राप्त हुने जनमतको कदर गरिने उल्लेख गर्दै अहिलेको चुनाव देश जलाउने नभई बनाउने पक्षमा रहेको दाबी गरे । २३–२४ भदौको जेन–जी आन्दोलनले नागरिकका अधिकारसँगै लोकतन्त्रमा प्रहार गरेको उनको भनाइ छ ।
त्यसलाई चिर्न आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउन आवश्यक रहेको उनले बताए । एमालेले प्राप्त जनताको अभिमतलाई कहिल्यै खेर जान नदिने प्रतिबद्धता जनाउँदै उनले नयाँ पार्टीमा लाग्दैमा व्यक्ति नयाँ नहुने तर्क गरे ।
नयाँ र पुरानाको नाममा गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे । जेन–जी आन्दोलन लामो समयदेखि योजनाबद्ध रूपमा अघि बढाइएको उल्लेख गर्दै देवकोटाले देश जलाउने कुनै पनि गतिविधि कदापी स्वीकार्य नहुने स्पष्ट पारे ।











प्रतिक्रिया दिनुहोस्