२०८३ वैशाख ४ , शुक्रबार

बुबा नेकपाको केन्द्रीय सदस्य, छोराको रोजाइ रास्वपा



नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लालकेश जैसीका छोरा नवीन कुमार सन्ज्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

लामो समयदेखि नेपालगन्जमा फार्मेसी व्यवसाय सञ्चालन गर्दै आएका सन्ज्यालले साउन ५ गते रास्वपाको सदस्यता लिएका थिए । उनी नेकपा केन्द्रीय सदस्य जैसीका माइलो छोरा हुन्।

करिब छ महिना अघि नै रास्वपाको सदस्यता लिएका सन्ज्यालले उक्त विषय गोप्य राखेका थिए। तर मंगलबार एकाएक सदस्यता सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ।

सार्वजनिक भएको सदस्यता कार्डलाई लिएर नेकपाका केही नेता तथा कार्यकर्ताले एआई प्रविधिको प्रयोग गरेर भ्रम फैलाइएको दाबी गर्दै आएका छन्।

यता, नेकपाका केन्द्रीय सदस्य लालकेश जैसीले पनि आफ्नो बदनाम गराउने उद्देश्यले योजनाबद्ध रूपमा प्रपञ्च रचिएको प्रतिक्रिया दिएका छन्।

तर रास्वपा हुम्ला जिल्लाको आधिकारिक सदस्यता सूचीमा भने नवीन कुमार सन्ज्यालको नाम क्रम संख्या ३०१ मा उल्लेख गरिएको पाइन्छ।

तत्कालीन नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सहसचिवसमेत रहेका जैसी हाल हुम्लाको ताजाकोट गाउँपालिकाका अध्यक्ष हुन्। उनी नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट १ हजार ८१० मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार