२०८३ वैशाख ४ , शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा हाम्रो पार्टी नेपालका अध्यक्ष सुनार सहित ३३ जना थपिए



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा थप ३३ जना सदस्य मनोनीत गरेको छ ।

काठमाडौंका मेयर बालेन शाह, ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल तथा विवेकशील साझा पार्टीसँग भएको एकतापछि रास्वपाले केन्द्रीय समितिमा नयाँ अनुहारहरू समेटेको हो ।

आइतबार दिउँसो र साँझ गरि दुई समय बसेको केन्द्रीय समिति बैठकमार्फत नयाँ सदस्यहरू मनोनीत गरेको हो ।

दिउँसो बसेको बैठकबाट विवेकशील साझा पार्टी छाडेर रास्वपासँग एकतामा आएका ७ जनालाई केन्द्रीय समितिमा समेटेको थियो ।

त्यसपछि साँझ सवा ७ बजे पुनः बसेको बैठकले थप २६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

नवमनोनीत केन्द्रीय सदस्यहरूमध्ये हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार पनि समेटिएका छन्।

सुनारले केही समय अघि मात्र निर्वाचन आय‍ोगमा दल दर्ताको प्रमाणपत्र पाएका थिए । तर उनी बालेन टिमबाट केन्द्रीय सदस्यमा मनोनित भएको पाईन्छ ।

सुनारसहित बालेन टिमबाट समेटिएका केन्द्रीय सदस्यहरूमा बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैदिक, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् ।

यसैगरी विवेकशील साझा पार्टीबाट समाहित भई केन्द्रीय सदस्य बनेकाहरुमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार