कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनीतिक दललाई पाखा राख्ने सोच त्याग्न गृहमन्त्रीलाई सुझाव दिएका छन्।

फागुन २१ गते तोकिएको निर्वाचन मितिप्रति अझै संशय रहेको उल्लेख गर्दै उनले दलहरूबीचको सहमतिले मात्र निर्वाचनको अनुकूल वातावरण बन्ने धारणा राखे।
आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण अझै तयार हुन नसकेको दाबी गरे।
निर्वाचनका सन्दर्भमा भयरहित वातावरण र सुरक्षा प्रमुख विषय भएको उल्लेख गर्दै उनले भदौ २३ र २४ गतेपछिको अवस्थाले सुरक्षा वातावरण कमजोर बनेको बताए।
मुख्यमन्त्री कडेलले सुरक्षा अवस्था पहिलेको जस्तो नरहेको र सुरक्षाकर्मीमा समेत मनोवैज्ञानिक त्रास रहेको बताए। उनले भने, “यहाँ व्यक्त नभए पनि सुरक्षाकर्मी साथीहरू मनोवैज्ञानिक रूपमा त्रसित छन्।
परिआएमा हतियार प्रयोग गर्ने कि नगर्ने भन्ने द्विविधा छ। यस्तो अन्योलको अवस्थामा निर्वाचनको वातावरण कसरी बन्छ ?”
दलहरूबीच नै निर्वाचनबारे सहमति नहुँदा अन्योल सिर्जना भएको भन्दै उनले सरकारले दलिय सहमतिलाई प्राथमिकता दिनुपर्ने बताए। उनले निर्वाचनका बेला एउटा मतदान केन्द्रमा खटिने चार जना प्रहरीको भरमा सुरक्षा सम्भव नहुने उल्लेख गर्दै सबै दलको सहभागिता सुनिश्चित भए मात्र निर्वाचन सम्भव हुने धारणा राखे।
मुख्यमन्त्री कडेलले प्रमुख दलका शीर्ष नेतालाई स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताए। “दलीय व्यवस्थामा दललाई पाखा राखेर निर्वाचन सम्भव हुँदैन,” उनले भने, “निर्वाचन गराउने हो भने दलहरूसँग सघन छलफल गर्नुपर्छ।” प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूसँग गरेको संवादलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले यस्ता संवाद र छलफलले मात्र देशलाई निर्वाचनतर्फ लैजान सकिने बताए।
जेन्जीको नाममा समाजमा कतिपय आतंक सिर्जना गरिएको टिप्पणी गर्दै मुख्यमन्त्री कडेलले कानून उल्लङ्घन गर्ने जोकोहीलाई पनि दण्डित गर्न नसकिए शान्ति सुरक्षा बनावटी मात्र हुने धारणा राखे।
उनले भदौ २३ गते युवाहरूले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागप्रति कसैको विमति नभए पनि २४ गते भएको विध्वंस र आगजनीमा संलग्नमाथि कारबाही नभएसम्म शान्ति सुरक्षाप्रति विश्वासको वातावरण नबन्ने बताए।
आगजनी र लुटपाटमा संलग्न व्यक्तिमाथि कारबाही नगर्न सरकारबाट सुरक्षा निकायमाथि दबाब परेकोप्रति पनि मुख्यमन्त्री कडेलले असन्तुष्टि व्यक्त गरे।
त्यसैगरी, मुख्यमन्त्री कडेलले कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना र लागू पदार्थ दुर्व्यसनजस्ता समस्यालाई कडाइका साथ नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्ने बताए।
कर्णालीमा सुरक्षाकर्मीहरूको पूर्वाधार तथा साधन–स्रोतको अवस्था दयनीय रहेकाले शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई अप्ठ्यारो परिरहेको उल्लेख गर्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए।











प्रतिक्रिया दिनुहोस्