२०८३ वैशाख ४ , शुक्रबार
एमाले ११ औँ महाधिवेशन

एमाले ११औँ महाधिवेशन: अध्यक्षमा ओली, महासचिवमा शंकर पोखरेलको अग्रता



नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक चरण सार्वजनिक भएको छ। विद्युतीय मेसिनमार्फत सम्पन्न मतदानको पहिलो बुथको गणना सकिँदा अध्यक्ष पदमा केपी शर्मा ओली र महासचिव पदमा शंकर पोखरेलले अग्रता लिएका छन्।

बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार २ सय २३ मत गणना हुँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ६७ मत पाएका छन्। प्रारम्भिक परिणामले अध्यक्ष पदमा ओलीको बलियो अग्रता देखाएको छ।

यस्तै, निकै चासोका साथ हेरिएको महासचिव पदमा भने कडा प्रतिस्पर्धा देखिएको छ। गणना भएका २ सय २३ मतमध्ये शंकर पोखरेलले ११५ मत प्राप्त गर्दा सुरेन्द्र पाण्डेले १०८ मतसहित उनलाई नजिकबाट पछ्याइरहेका छन्।

उपाध्यक्ष पदमा विष्णु प्रसाद पौडेल १७३ मतका साथ अग्रस्थानमा देखिएका छन् भने पृथ्वी सुब्बा गुरुङ १७१ मतका साथ दोस्रो स्थानमा छन्। यसैगरी रामबहादुर थापा ‘बादल’ले १५३, गोकर्ण विष्टले १३३ र रघुजी पन्तले १२३ मत प्राप्त गरेका छन्। भीम आचार्य (२७) र अरुण नेपाल (३८) भने पछाडि परेका छन्।

उपमहासचिव पदमा लेखराज भट्ट १४७ मतसहित अग्रस्थानमा छन्। उनलाई योगेश भट्टराईले १४० मतका साथ पछ्याइरहेका छन्। रघुवीर महासेठले १२६ र विष्णु रिमालले १०५ मत प्राप्त गरेका छन्।

सचिव पदमा महिला उम्मेदवार पद्मा कुमारी अर्याल १५२ मतका साथ शीर्ष स्थानमा देखिएकी छन्। महेश बस्नेत (१५०), छविलाल विश्वकर्मा (१४५), शेरधन राई (१४१) र हिक्मत कार्की (१३८) ले पनि बलियो उपस्थिति जनाएका छन्। सचिव पदका अन्य उम्मेदवार खगराज अधिकारी (१३२) र राजन भट्टराई (११३) पनि प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार