दैलेखको नारायण नगरपालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी एकदिने सचेतना शिविर सम्पन्न भएको छ। नारायण नगरपालिका कार्यालयको प्राङ्गणमा शुक्रबार शिविर सञ्चालन गरिएको हो।

नारायण नगरपालिकाको आयोजना तथा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम, युरोपेली युनियन, संयुक्त राष्ट्रसङ्घ, सामाजिक सुरक्षा कोष, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र किर्डार्क नेपालको सहकार्यमा शिविर आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले औपचारिक तथा अनौपचारिक क्षेत्रका सम्पूर्ण कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा जोड दिए। उनले शिक्षक, सवारीचालक, सहकारीका कर्मचारी तथा निजी र गैरसरकारी सङ्घ–संस्थामा कार्यरत कर्मचारीलाई समेत कोषमा समावेश गर्न आवश्यक रहेको बताए।
नगर उपप्रमुख तप्ता कुमारी खड्का थापाले अनौपचारिक तथा निजी क्षेत्रका श्रमिक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताइन्। उनले कर्मचारी तथा श्रमिकका लागि सामाजिक सुरक्षा कोष महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको फाइदा र आवश्यकताबारे जानकारी गराइन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राम ओडले सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने विभिन्न सुविधा तथा सेवाबारे जानकारी दिए। योगदानकर्ताको मृत्यु वा अन्य जोखिमको अवस्थामा पति वा पत्नी तथा आश्रित परिवारका सदस्यले प्राप्त गर्ने पेन्सन, उपदानलगायतका सुविधाबारे सर्वसाधारणलाई स्पष्ट जानकारी दिन आवश्यक रहेको उनले बताए।
किर्डार्क नेपालका कार्यक्रम संयोजक बिन्दुलाल रेग्मीले सामाजिक सुरक्षा कोषको महत्त्व र यसबाट श्रमिकको जीवनमा आएको सकारात्मक परिवर्तनबारे जानकारी गराए। सरकारले औपचारिक, अनौपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार क्षेत्रमा रहेका सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित अभियान सञ्चालन गरिरहेको उनले बताए।

यस्तै, आइएलओ कर्णाली प्रदेश संयोजक सृजना ढकालले अनौपचारिक तथा निजी क्षेत्रका श्रमिक, शिक्षक, सवारीचालक र स्वरोजगार व्यक्तिले वृद्धावस्था, दुर्घटना वा अस्वस्थताको समयमा सामाजिक सुरक्षा कोषबाट आर्थिक सहारा पाउने बताइन्।
शिविरमा सहभागीलाई सामाजिक सुरक्षा कोषका फाइदा, आबद्ध हुने प्रक्रिया तथा उपलब्ध सेवाबारे जानकारीमूलक पुस्तिका वितरण गरिएको थियो। सर्वसाधारणका जिज्ञासा सम्बोधन तथा परामर्शका लागि छुट्टै परामर्श डेस्कसमेत सञ्चालन गरिएको थियो।
कार्यक्रमको सञ्चालन तथा समन्वय सामाजिक विकास शाखा प्रमुख खमबहादुर थापाले गरेका थिए। शिविरमा करिब २५० जनाले सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारी लिएका थिए।








