२०८३ वैशाख ४ , शुक्रबार

एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाए



एक दर्जनभन्दा बढी वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। पुस महिनाका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ।

 

सोमबार सार्वजनिक सूचनाअनुसार पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशत कायम भएको छ। मंसिर महिनामा यो दर ५.०४०५ प्रतिशत थियो। यसअनुसार औसत ब्याजदर ०.२०६५ प्रतिशतविन्दुले घटेको हो।

१३ वटा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशत तथा कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्।

यसैगरी सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशत ब्याज दिनेछन् भने सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ।

यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि पुस महिनामा मंसिरको तुलनामा ०.१३ प्रतिशतविन्दुले घटेको छ। पुसका लागि पाँच वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लै दरलाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार