२०८३ वैशाख ४ , शुक्रबार
नेपाली कांग्रेस

कांग्रेसमा उम्मेदवार सिफारिसको दौड : देशभर शीर्ष नेताहरूको नाम अग्रपंक्तिमा



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसमा उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बन्दै गएको छ। मंगलबार अपराह्नसम्म देशका विभिन्न क्षेत्रबाट पार्टीका शीर्ष नेतासहित अनेकै संभावित उम्मेदवारहरूको नाम सिफारिस हुँदै केन्द्रतर्फ पठाइएको छ।

सुर्खेत-१ बाट कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पुनः प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन्। खड्का २०७९ सालको आम निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

महामन्त्री गगन थापा यो पटक धनकुटा र रोल्पा दुवै क्षेत्रबाट सिफारिस भएका छन्। उनी गत निर्वाचनमा काठमाडौं-४ बाट विजयी बनेका थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ बाट सर्वसम्मत रूपमा सिफारिस भएका छन्। उनी पनि यही क्षेत्रबाट २०७९ मा निर्वाचित भएका थिए।

त्यस्तै, डा. शेखर कोइराला मोरङ-६ बाट उम्मेदवार सिफारिस भएका छन्। गत निर्वाचनमा उनी यही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए। यी नेताहरू सबै क्षेत्रीय समितिबाट एकल सिफारिस भएका हुन्। पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा कैलाली-५ बाट सिफारिस भएकी छन्। उनीसँगै नरनारायण शाह (मनु), डिल्लीराज पन्त र नृप वडका नाम पनि उम्मेदवारको रूपमा सिफारिस गरिएको छ।

पूर्वमन्त्री महेश आचार्य मोरङ-४ बाट सिफारिस भएका छन्। यो क्षेत्रबाट दिलिपकुमार गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेतका नाम पनि सिफारिसमा परेका छन्। त्यस्तै, पूर्वमन्त्री मीनेन्द्र रिजाल मोरङ-२ बाट सिफारिस भएका छन्। उनीसँगै शिवनारायण सिंह र नारायणी पण्डितको नाम पनि समावेश छ।

सिन्धुपाल्चोक–१ बाट पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पर्सा-४ बाट कांग्रेस नेता रमेश रिजाल र बैतडीबाट नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

सुर्खेत-२ बाट पूर्वमन्त्री हृदयराम थामीसहित उपेन्द्र थापा, कमल खत्री, नारायण कोइराला, भिष्मराज हमाल र वसन्ती बस्नेतको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ। क्षेत्रीय समितिबाट सिफारिस भएका नाम जिल्ला कार्यसमितिमा पठाइने छन्। जिल्ला कार्यसमितिले ती नाम प्रदेश कार्यसमितिमा पठाएपछि अन्तिम टुंगो कांग्रेस केन्द्रीय समितिले  घाेषणा गर्ने छ ।

प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार