नेकपा (एमाले) सुर्खेतले शनिबार वीरेन्द्रनगरमा बृहत् जनप्रदर्शन तथा जनसभा सम्पन्न गरेको छ।
देशभर ‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध आयोजना गरिएको प्रदर्शनका क्रममा सुर्खेतमा एमाले नेताहरूले जेन–जी आन्दोलनको आलोचना गरेका छन् ।

एमालेले प्रतिनिधिसभा पुनर्स्थापना, संविधानको रक्षा तथा युवा पुस्ता-विशेषगरी जेन–जीका माग सम्बोधन गर्न आफ्नो पार्टी सक्षम रहेको दाबी गर्दै देशव्यापी प्रदर्शन सञ्चालन गरेको हो। वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको ¥याली घण्टाघर पुगेर जनसभामा परिणत भएको थियो। जनसभामा कर्णालीका केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा जिल्लाका ९ वटै पालिकाबाट उल्लेख्य संख्यामा कार्यकर्ता, समर्थक र युवाको उपस्थिति थियो।
सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इञ्चार्ज नवराज रावतले जेन–जी आन्दोलनपछि बनेको सरकारले जनतामा कुनै आशा दिन नसकेको आरोप लगाए। उनले भने, ‘जेन–जी आन्दोलनपछि बनेको सरकार संविधानको अक्षर र भावना दुवै विपरीत चलेको छ। नेपाली जनता अब पुनः एकपटक जाग्ने बेला आएको छ।’ आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचन सरकारले समयमै गर्न नसक्ने विश्वास रहेको उनले टिप्पणी गरे।

त्यस्तै, एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले जनताको पार्टी भएको दाबी गर्दै जेन–जीका माग पूरा गर्ने क्षमता एमालेसँग मात्र रहेको बताए। उनले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा सहभागीहरू ‘युवा पुस्ता होइन, लुटेरा समूह’ रहेको आरोप पनि लगाए।
कार्यक्रममा अन्य वक्ताहरूले युवाका रोजगार, अवसर र क्षमता विकासका विषयमा जोड दिँदै जेन–जी पुस्ताले अपेक्षा गरेको परिवर्तन एमालेले मात्र पूरा गर्न सक्ने दाबी गरे।
वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख तथा एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले सरकार निर्माण प्रक्रिया असंवैधानिक र गैर–लोकतान्त्रिक भएको आरोप लगाउँदै प्रतिपक्षमा बसेर एमाले जनअधिकारको पक्षमा दृढतापूर्वक उभिएको बताइन्।
सभा सम्बोधन गर्ने नेताहरूले संविधान, लोकतन्त्र र जनअधिकारको संरक्षणका लागि हुने संघर्षमा जनताको साथ अपरिहार्य रहेको जोड दिएका थिए।











प्रतिक्रिया दिनुहोस्