
कर्णाली प्रदेशसभा सचिवालयले सार्वजनिक सम्पत्ति चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य सुरू गरेको छ।
गत भदौ २४ गते (सोमबार) जेन–जी समूहको आन्दोलनका क्रममा सिर्जित असामान्य परिस्थितिको मौका छोपेर केही समूहले प्रदेशसभा र सचिवालयभित्रका सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गरेको पाइएको सचिवालयले जनाएको छ।
सचिवालयले सार्वजनिक सूचना जारी गर्दै आन्दोलनको आडमा सभा तथा सचिवालयबाट सम्पत्ति हिनामिना गर्ने, चोरी वा लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने तयारी भएको स्पष्ट पारेको छ।
उक्त दिनको आन्दोलनको क्रममा प्रदेशसभा र सचिवालयमा भएकोको तोडफोड, आगजनी र लुटपाटका फोटो वा भिडियो सामग्री प्रहरी कार्यालय वा कर्णाली प्रदेशसभा सचिवालयको आधिकारिक इमेल (karnalipradesh@gmail.com) मा पठाउन अनुरोध गरिएको छ।

साथै, अनुसन्धानका लागि सहयोग गर्ने व्यक्तिहरूको पहिचान पूर्ण रूपमा गोप्य राखिने सचिवालयले जनाएको छ।
प्रदेशसभा भित्रबाट लगिएका सामग्री नजिकैको प्रहरी कार्यालय वा प्रदेशसभा सचिवालयमै बुझाउन पनि आग्रह गरिएको छ।
उक्त आन्दोलनका क्रममा प्रदेशसभा र सचिवालय मात्र नभई मुख्य प्रवेशद्वारमा रहेको एनआइसी एशिया बैंकको एटीएम मेसिनमा समेत आगजनी गरी भित्र रहेका लाखौं रुपैयाँ लुटपाट गरिएको सचिवालयले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्