
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीलाई निन्दनीय भएको बताएका छन्।
आइतबार कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई उद्देश्य भन्दा फरक ढंगले प्रयोग गरिएको र तोडफोड र आगजानीको जिम्मेवार को हुने भन्ने विषयमा अन्यौल सिर्जना भएको बताए।
मुख्यमन्त्री कंडेलका अनुसार आन्दोलन सुरु भएदेखि नै गणतन्त्र ल्याउने अभियानमा सहभागी युवाहरूलाई समेत भड्काएर घटना गराइएको हो।
उनले संघीय राजधानीमा अप्रिय घटनाहरू घटेको र त्यसको प्रभाव कर्णालीमा पनि देखिएको जानकारी दिए। ‘घटना हुन भन्दा पहिला नै काठमाडौंबाट सुर्खेत आइपुगेँ।
तर, सुरक्षा कारण सञ्चारकर्मीहरूसँग प्रत्यक्ष भेटघाट गर्न सकिनँ,’ उनले भने।
उनले घटनामा सबैभन्दा बढी नोक्सानी कर्णाली प्रदेश सभामा भएको उल्लेख गर्दै प्रदेश सचिव र मन्त्रीहरूसँग आगामी जिम्मेवारी कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताए।
उनका अनुसार काठमाण्डौं स्थित सिंहदरबार ,संसद भवन , शितल निवास लगायतका इतिहास बोकेका सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएपछि कर्णालीमा पनि सुरक्षा प्रणाली फितलो पारिएको बताए ।
जसका कारण आफू सुरक्षालाई मध्यनजर गर्दै कपासेस्थित सेनाको ब्यारेकमा बस्नुपरेको बताए।
मुख्यमन्त्री कंडेलले जनप्रतिनिधिले गल्ती गरे कानुनी निकायले सजाय दिने प्रावधान रहेको भए पनि व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलनलाई भड्काइएको आरोप लगाए।
जेन- जी आन्दोलनका नाममा कर्णालीमा धेरै सरकारी संरचना तोडफोड र आगजानी भएका छन् ।
सबै भन्दा क्षति प्रदेश सभा, प्रदेश लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय र राजधानी स्थित प्रमुख तीन दलका पार्टी कार्यालय, र केही नेता लगायत आफ्नो घर समेत आगजनीमा परेर तहसनहस भएको बताए ।
आन्दोलन पछि घटेका घटना र क्षति ग्रस्त स्थानहरु सबैमा आफूले अनुगमन गरेको पनि मुख्यमन्त्री कँडेलले बताए।
उनले आन्दोलनमा व्यक्तिविशेष र पार्टीविशेषलाई मात्र लक्षित गरिएको भन्दै लेख्नेहरूले जे लेखे पनि आफूले आफ्नो दायित्व र कर्तव्य नबिर्सिने स्पष्ट पारे।
‘जेन–जीका नाममा भएको आगजनी र तोडफोड स्वीकार्य छैन। समस्याका बाबजुद सरसल्लाह गरेर अगाडि बढ्नुपर्छ’
देश प्रमुख तीन दल नेकपा एमाले, नेकपा माओवादी र नेपालि कांग्रेस बलियो भए समाज आफै बलियो हुने उल्लेख गर्दै आन्दोलनको बहानामा प्रदेशस्तरका कार्यालयहरूले बजेट कार्यान्वयन रोक्न नहुने पनि चेतावनी दिए।











प्रतिक्रिया दिनुहोस्