
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनको बाँकी रहेका कामहरू छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
शनिवार प्रशारणलाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेको विभिन्न संरचनाहरूको निरीक्षण गर्दै उनले जनस्तरमा देखिएका समस्या समाधान भइसकेकाले अब निर्माणमा ढिलाइ गर्न नहुने बताए । उनले आउँदो तिहारसम्म प्रसारण लाइनको फिल्डको काम सकेर सब स्टेसनमा विद्युत् जोड्ने गरी काम सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन दिए ।

मुख्यमन्त्री कँडेलले सुर्खेत र कोहलपुरस्थित १३२ केभी प्रशारणलाइनको सबस्टेशन, गाभर निर्माणाधीन टावर अवलोकन गर्नुका साथै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा प्रशारणलाइनका कर्मचारीसँग बाँकी कामहरूको बारेमा छलफल गरेका थिए । चिसापानी गाभरमा सरोकारवालासङको छलफलमा सङ्घीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही पनि सहभागी थिए ।
मुख्यमन्त्री कँडेलले संस्थागत क्षमता बढाएर कामलाई छिटो छरितो सम्पन्न गर्न तर्फ ध्यान दिन आग्रह गरे । ‘अहिलेसम्म विभिन्न कानुनी र स्थानीयसँगको विवादलाई देखाएर ढिलाइ भयो, अब ती समस्याहरू समाधान भइसकेका छन्, उनले भने, मौसम प्रतिकुलतालाई देखाएर अब धेरै समय ढिला गर्ने छुट छैन, जतिसक्दो छिटो प्रशारणलाइनको काम सम्पन्न गर्नुस्, प्रदेश र सङ्घीय सरकारबाट कुनै निर्णय, समन्वय एवं सहकार्य गर्नुपर्ने भए जानकारी गराउनुस् ।’
उनले निकुञ्जका कर्मचारीलाई कर्णाली बासीको दिनचर्यासँग जोडिएको राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा देखिएको अवरोधलाई स्थानीय स्तरबाटै समाधान गर्न पहलकदमी लिन जोड दिए ।
सङ्घीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले अधिकतम प्राथमिकतामा राखेर काम अघि बढाइए पनि केही ढिला हुन पुगेको बताए । ‘मन्त्रालयको तर्फबाट गर्नुपर्ने कामहरू हामी गर्छौँ, गरिरहेका पनि छौँ बाँकी केही समस्या देखिएमा लेखेर पठाउनुस्, मन्त्रालय स्तर र मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए गर्छौँ’ उनले भने ।
मुख्यमन्त्री र वनमन्त्रीसंगको छलफलमा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले काटिएका काठहरू ल्याउन बाँकी रहेकाले अब रुख कटान र ढुवानीमा ढिलाइ नगर्ने प्रतिबद्धता जनाए ।
आयोजना प्रमुख रवि चौधरीका अनुसार १६२ वटा टावरमध्ये तीन वटा मात्र निर्माण बाँकी रहेको र १० किमी लाइन तान्न बाँकी रहेको जानकारी दिए । बाँके बानियाँ भारमा खेतको पानीले गर्दा टावरको जग खन्न ढिलाइ भएको र पानी कम हुन बित्तिकै यसलाई पुरा गरिने उनको भनाई छ ।
यसअघि बाँकेको बानियाँ भार, गाभर र सुर्खेतको सुब्बा कुनामा मुआब्जा विवाद थियो । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको हकमा मुआब्जा नीतिमा फेरबदल गरेपछि यो विवाद हल भएको हो ।
साथै आयोजनाले भौगोलिक जटिलताले रुख काट्न र ढुवानी गर्न समस्या हुने केही स्थानमा ड्रोनको सहायताबाट लाइन जोड्ने तयारी गरेको छ । बाँकेको कोहलपुरबाट सुरु भएर सुर्खेतको वीरेन्द्रनगर ११, स्थित सुब्बा कुना सब स्टेसन पुगेर टुङ्गिने प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ ।











प्रतिक्रिया दिनुहोस्