२०८३ भदौ २८ , आइतबार

किसानको आय बढाउन उत्पादनदेखि बजारीकरणसम्म जोड



कर्णाली प्रदेशमा महिलाको आर्थिक सशक्तीकरण तथा कृषि आय अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको कार्यक्रमअन्तर्गत पाँचौँ बैठक सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ।

सुर्खेत कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष टोपेन्द्रजंग शाहीको अध्यक्षतामा भएको बैठकमा दैलेख, सुर्खेत र कालिकोटका ६ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, कृषि शाखाका प्रमुख, स्थानीय व्यापारी तथा कृषि समूहमा आबद्ध किसानहरूको सहभागिता थियो। बैठकमा सेवक नेपालका परियोजना संयोजक भूमिप्रसाद काफ्लेले सहजीकरण गरेका थिए।

बैठकमा तीन जिल्लाका ६ स्थानीय तहमा महिला किसानका लागि सञ्चालन गरिएका विभिन्न तालिमबाट आएको आर्थिक तथा व्यावसायिक परिवर्तन, असल अभ्यास, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका चुनौतीबारे अनुभव आदान-प्रदान गरिएको थियो।
जुनेली कृषि समूहका अध्यक्ष मिनबहादुर खड्काले तरकारी बालीमा पनि आलुलाई ग्रेडिङ र प्याकेजिङ गरेर बिक्री गर्दा राम्रो मूल्य पाउन सकिने बताए ।

समूहका किसान दिदीबहिनीहरूले बालीको कटनीपछिको उचित व्यवस्थापन, छनोट तथा ग्रेडिङ, वैज्ञानिक भण्डारण, गुणस्तर संरक्षण, रोग तथा किराको संक्रमणबाट बच्ने उपाय, प्याकेजिङ र बजारको मागअनुसार उत्पादन व्यवस्थापनको तालिम समेत लिएका उनले बताए । यसले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य पाउने आशा बढाएको उनको भनाइ छ । समूहले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि वीरेन्द्रनगरका तरकारी मण्डीहरूसँग सम्झौता गरेको जानकारी दिए । ‘ उत्पादन जति भए पनि संकलन केन्द्रमा ल्याउने व्यवस्था गरेका छौँ। त्यहीँबाट व्यापारीहरूले उत्पादन लैजानुहुन्छ, त्यसैले बजार र कारोबारमा पनि खासै समस्या आएको छैन,’ खड्काले भने ।

देवकोटा सब्जीमण्डीका लक्षण देवकोटाले कृषि उपजको बजारमा प्रतिस्पर्धा आवश्यक रहेको बताए। किसानले उत्पादनको गुणस्तर कायम गर्दै बजारको मागअनुसार उत्पादन र बजारीकरण गर्न सके राम्रो मूल्य प्राप्त गर्न सकिने उनको भनाइ छ। ‘ बजारमा मूल्यको प्रतिस्पर्धा हुनुपर्छ। त्यसका लागि किसानले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी उत्पादनमा ध्यान दिनुपर्छ। ग्रेडिङ र प्याकेजिङलाई पनि प्राथमिकता दिनुपर्छ। यस्तो गर्न सके बजारमा उत्पादनको मूल्य राम्रो पाइन्छ,’ देवकोटाले भने।

नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले किसानले उत्पादन गरेका कृषि उपजको संकलन तथा बिक्री-वितरणलाई व्यवस्थित बनाउनुपर्ने बताए। किसानले उत्पादन गरेपछि बजारको सुनिश्चितता नहुँदा समस्या हुने भएकाले स्थानीय तह, किसान समूह, सहकारी र व्यापारीबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो। नारायण नगरपालिकाकी उपप्रमुख तप्ता कुमारीले किसानको उत्पादन र आवश्यकताअनुसार स्थानीय तहबाट सहयोग तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्। महिला किसानलाई कृषि उत्पादनसँगै व्यवसायिक गतिविधिमा जोडेर आयआर्जनको अवसर बढाउनुपर्नेमा उनले जोड दिइन्।

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजलाई बजारसँग जोड्न सहकारी, किसान समूह र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए। उत्पादन बढाउने मात्र नभई उत्पादित वस्तुको बजारीकरण र उचित मूल्य प्राप्त गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

भैरवी गाउँपालिकाका अध्यक्ष रिता शाहीले किसानलाई जीविकोपार्जनमुखी र उद्यमी गरी दुई समूहमा विभाजन गरेर काम गरिरहेको बताइन्। किसानको अवस्था र आवश्यकताका आधारमा कार्यक्रम तथा सहयोग उपलब्ध गराउँदा कृषि क्षेत्रलाई थप व्यवसायिक बनाउन सकिने उनले बताइन्। ‘हामीले किसानलाई दुई भागमा विभाजन गरेका छौँ-जीविकोपार्जन गर्ने किसान र उद्यमी किसान। दुवै समूहका आवश्यकता फरक छन्। त्यसअनुसार कार्यक्रम सञ्चालन गर्न आवश्यक छ,’ शाहीले भनिन्।

कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले सुर्खेतमा कृषि बजार स्थापना तथा व्यवस्थित गर्न लामो समयदेखि प्रयास गरिएको बताए। अहिले कृषि बजारबाट धेरै किसान तथा व्यवसायी लाभान्वित भइरहेको उनको भनाइ छ। ‘सुर्खेतको कृषि बजारलाई व्यवस्थित गर्न धेरै संघर्ष गरेका थियौँ। अहिले यसबाट धेरै मानिस लाभान्वित भएका छन्। तर कृषि उपजको बजार व्यवस्थापन अझै पनि निकै चुनौतीपूर्ण छ। किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउने गरी बजार प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक छ,’ रोकायले भने।

कृतिदेवल बहुउद्देश्यीय कृषि सहकारी संस्थाकी सदस्य सरिता थापाले किसानकाे कृषि उत्पादनलाई व्यवस्थित गर्ने र बजारको मागअनुसार उत्पादन गर्ने विषयमा तालिमपछि किसानमा सचेतना बढेको बताइन्। उत्पादन मात्र गरेर नहुने भन्दै उनले गुणस्तर, ग्रेडिङ, प्याकेजिङ र बजार व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताइन्। ‘पहिले उत्पादन गरेपछि कहाँ बेच्ने भन्ने चिन्ता हुन्थ्यो। अहिले बजारको माग बुझेर उत्पादन गर्ने र उत्पादनलाई राम्रोसँग तयार गरेर बिक्री गर्नुपर्छ भन्ने सिकेका छौँ,’ थापाले भनिन्।
चगत्रा कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष मोतिराम अधिकारीले कृषि क्षेत्रलाई व्यवसायिक बनाउन किसानलाई निरन्तर प्राविधिक ज्ञान, उत्पादन सामग्री र बजारको सुनिश्चितता आवश्यक रहेको बताए। कृषि उत्पादनको लागत घटाउने र उचित मूल्य प्राप्त गर्ने वातावरण बनाउन स्थानीय सरकार तथा सम्बन्धित निकायले किसानसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ। ‘किसानलाई उत्पादन गर्न मात्र सिकाएर पुग्दैन, उत्पादित वस्तुको बजार र मूल्यको सुनिश्चितता पनि आवश्यक छ। उत्पादनदेखि बजारीकरणसम्मको शृंखला व्यवस्थित गर्न सके कृषि व्यवसायबाट किसानको आम्दानी बढाउन सकिन्छ,’ अधिकारीले भने।

उज्यालो साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष झमलाल पौडेलले किसानको उत्पादनलाई बजारसँग जोड्न सहकारी, व्यापारी र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए। उत्पादनको मात्रा, गुणस्तर र बजारको मागबारे नियमित सूचना आदान-प्रदान गर्न सके किसानले योजनाबद्ध रूपमा उत्पादन गर्न सक्ने उनको भनाइ छ। ‘किसानले के उत्पादन गर्ने, कति उत्पादन गर्ने र कहाँ बिक्री गर्ने भन्ने जानकारी समयमै पाउनुपर्छ। यसका लागि सहकारी र बजारबीचको समन्वय अझ बलियो बनाउन आवश्यक छ,’ पौडेलले भने।

सुर्खेत कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष शाहीले किसानले उत्पादन मात्र गरेर हुँदैन, उत्पादित वस्तुको बजार र उचित मूल्य पनि सुनिश्चित हुनुपर्छ। त्यसका लागि कृषि उपजको गुणस्तर कायम गर्ने, ग्रेडिङ तथा प्याकेजिङ गर्ने र बजारको मागअनुसार उत्पादन गर्ने अभ्यासलाई प्राथमिकता दिन आवश्यक रहेकाे बताए । उत्पादनदेखि बजारीकरणसम्म सबै पक्षबीच सहकार्य भयो भने किसानको उत्पादनले बजार पाउँछ र कृषि क्षेत्रलाई व्यवसायिक बनाउन थप सहयोग पुग्ने उनको। भनाइ थियो  ।

बैठक सुर्खेत कृषि बजार व्यवस्थापन समितिको आयोजनामा नेपाल सरकार, युरोपेली संघ र संयुक्त राष्ट्र संघका एजेन्सीहरूको संयुक्त पहलमा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को पहल तथा सेवक नेपालको कार्यान्वयन साझेदारीमा बैठक आयोजना गरिएको हो।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।